नेपालगन्ज ११ बैशाख – समुदायस्तरमै तिब्र रुपमा कोरोना संक्रमण फैलिएपछि बाँकेको कोहलपुरमा आइतबारदेखि एक साताका लागि ‘लकडाउन’ गरिने भएको छ । कोरोना संक्रमण समुदायमा तीव्र रुपमा बढ्दै गएपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्नकालागि ‘लकडाउन’ गरिने भएको हो ।
कोहलपुर नगरपालिकाको शनिबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले कोभिड नियन्त्रण तथा रोकथामका लागि कोहलपुर नगर क्षेत्रभर आइतबार राती १२ बजेदेखि एक साताकालागि ‘लकडाउन’ गर्नका लागि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अनुरोध गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले जानकारी दिनुभयो ।
कोहलपुर नगरभित्र शनिबार बिहानसम्म कोरोनाका २६१ जना सक्रिय संक्रमित रहेको जानकारी दिदै उहाँले कोरोना संक्रमणको जोखिमलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि तत्कालका लागि लकडाउन नै उत्तम विकल्प देखिएकाले ‘लकडाउन’ गर्नका लागि सिडिओ समक्ष अनुरोध गरिएको बताउनुभयो ।

कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको छ । यसअघि नेपालगन्जमा एक हप्ताकालागि लकडाउन लागु गरिएको थियो । यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने कोहलपुरको लकडाउनको बारेमा जानकारी नभएको जानकारी गराउनुभयो । लकडाउन हुने नहुने बारे मलाई जानकारी आएको छैन नगरपालिका आफैले गरेको हो भने मलाई यस विषयमा जानकारी नभएको उहाँले जानकारी गराउनुभयो ।
फेसबुकको वाल र विभिन्न मिडिया मार्फत कोहलपुरमा लकडाउन भएको समाचार सार्वजनिक भएपनि प्रमुख जिल्ला अधिकारीलाई भने यस विषयमा थाहा नभएको उहाँले भन्नुभयो ।
