नेपालगन्ज ०७ बैशाख – चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसिप लुम्बिनी प्रदेशले उपाधि जितेको छ । मङ्गलवार सम्पन्न प्रतियोगितामा लुम्बिनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्य पदक हात पारेका छन् । ७ स्वर्ण, ७ रजत तथा ११ काश्य पदक जितेको बाग्मती प्रदेश दोस्रो तथा ५ स्वर्ण र दुई काश्य सहित गण्डकी प्रदेश तेस्रो भयो । पुरुष तर्फ लुम्बिनीका गोपाल विक तथा महिला तर्फ गण्डकीकी मोनालिसा मल्ल उत्कृष्ट खेलाडी भएका छन ।
बुद्ध राई उत्कृष्ट रेफ्रि घोषित भएकी छिन । दुई नं प्रदेशकी विजया कुमारी वाइबा उत्कृष्ट प्रशिक्षक चयन भएकी छिन । उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रि प्रत्येकले ५ हजार रुपैयाँ पुरस्कार पाए । नेपाली नयाँ वर्षको अवसरमा नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसनको आयोजनामा भएको चार दिने प्रतियोगितामा सात प्रदेशका ७ सय भन्दा बढी खेलाडीको उपस्थिति रहेको मुख्य प्रशिक्षक सुस्मिता गुरुङले जानकारी दिनुभयो ।
समापन समारोहमा प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि खानेपानी मन्त्री मणि चन्द्र थापा, राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष नैना कला थापा, नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसन तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगर, गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द बहादुर नेपाली र गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तारामाया थापाले पुरस्कार प्रदान गर्नूभयो ।
