नेपालगन्ज २४ फागुन – साविक विजेता नेपाल पुलिस क्लबले सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै उपाधि सम्भावना बलियो बनाएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले लगातार तेस्रो जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाए पनि त्यसपछि पुलिसले लगातार तीन सेट जित्दै खेल जितेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले आर्मीलाई १५–२५, २५–१८, २७–२५ र २५–२३ ले पराजित गरेको हो । पहिलो सेट आर्मीले १० अंकको अग्रताका साथ २५–१५ ले सहजै जितेको थियो । दोस्रो सेटमा पनि आर्मीले राम्रो सुरुवात गर्दै उच्च प्रतिस्पर्धा दिएको थिए । ७–७ बराबरको अवस्थाबाट पुलिसले लगातार ६ अंक जोडेपछि आर्मी खेलमा फर्किन सकेन । आर्मी खेलमा फर्किन नसकेपछि पुलिस २५–१८ ले विजयी भएको थियो ।

तेस्रो सेट एक समय १५–१५ को कडा प्रतिस्पर्धामा थियो । उक्त बराबरीको समयपछि आर्मीले पाँच अंकको अग्रता लिँदै सेट जितको सम्भावना देखाएको थियो । तर पुलिसले उत्कृष्ट पूनरागमनका साथ सेट २७–२५ ले जितेको थियो । पुलिसले १९–२४ ले पछि परेको अवस्थाबाट उत्कृष्ट पूनरागमनका साथ २५–२५ को बराबरीको कडा र रोमान्चक प्रतिस्पर्धा हुँदै २७–२५ ले जितेको थियो ।
उक्त सेट आर्मीले जितेको भए आर्मीको उपाधि सम्भावना कमजोर हुने थियो । चौथो सेट पुलिसले सेट २५–२३ ले जितेको थियो । पुलिसको जितमा मनिषा चौधरीको प्रर्दशन उच्च रह्यो । उनी खेलको प्लेयर अफ द म्याच समेत चुनिइन् ।

पुलिसले उद्घाटन खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–२ को सेटले पराजित गरेको थियो । दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेड टिमलाई ३–० ले हराएको थियो । पुलिसको ३ खेलमा ८ अंक छ भने शीर्षस्थानमा रहेको एपिएफले ९ अंक जोडेको छ । तेस्रो स्थानको न्यु डायमन्डको ४ तथा आर्मीको ३ अंक छ । अब पुलिस र एपिएफबीच अन्तिम दिनको खेल फाइनलसरह भएको छ ।
आर्मीको यो लगातार तेस्रो हार हो । पहिलो खेलमा लुम्बिनी युनाइटेड टिममाथि आर्मीले ३–० को सहज जित निकालेको थियो । दोस्रो खेलमा आर्मी एपिएफसँग ३–१ ले पराजित भएको थियो । तेस्रो खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब ३–१ ले हार्न पुगेको थियो ।
प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेडको सहभागिता छ । विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

