नेपालगन्ज, २२ फागुन – राष्ट्रिय निकुञ्ज घोषणा गर्नुको पहिलो उद्देश्य भनेको त्यहा रहेका वन्यजन्तुको संरक्षण हो । तर राजमार्गहरु वन्यजन्तु मैत्री नहुँदा प्रत्येक बर्ष कुनै न कुनै कारणले वन्यजन्तुको मृत्यु हुने क्रम रोकीएको छैन । आहारा तथा पानीको कमीका कारण बेला बखत वन्यजन्तु निकुञ्ज बाहिर आउन बाध्य हुन्छन । निकुञ्ज भित्रको आहारको कमी, निकुञ्ज भित्र नै रहेको सडक उनीहरुका लागि खतरा बन्दै गएको पाइएको छ ।
बँके राष्ट्रिय निकुञ्ज पूर्वपश्चिम राजमार्ग ७२ किलोमिटर र रत्नराजमार्ग ३० किलोमिटर क्षेत्र पर्छ । ५ सय ५० वर्गमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्ज बाँके, सल्यान र दाङसंग जोडिएको छ ।
सात बर्षको अवधीमा बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटनाका कारण ३५४ वटा वन्यजन्तु मारिएको निकुञ्जका सुचना अधिकारी महेश न्यौपानेले बताउनुभयो । आ.व. २०७१/०७२ मा २४, २०७२/०७३ मा ५०, २०७३/०७४ मा ८३, २०७४/०७५ मा ७२, २०७५/०७६ मा ३२, २०७६/०७७ मा ६३ र २०७७÷०७८ देखि हालसम्म ३० वन्यजन्तु सडक दुर्घटनामा मारिएको तथ्यांक निकुञ्जमा रहेको छ । साथै वन्यजन्तु र मानव बीच द्वन्द्व सिर्जना हुनुका साथै बन्यजन्तु तस्करी समेत बढेको देखिन्छ । बाँके राष्ट्रिय निकुञ्जले हालसम्म वन्यजन्तु सम्बन्धी ७५ वटा मुद्दा दायर गरेको छ । जसमध्ये अदालत पु्गेका मुद्दाको संख्या ३८ र निकुञ्जमै दर्ता रहेको मुद्दा संख्या ३८ छन । हालसम्म दर्ता भएका मध्ये १२ मुद्दा फस्र्यौट गर्न बाँकी रहेको छ ।
निकुञ्जमा रहेका वन्यजन्तुका कारण आसपासमा रहेका बस्तीमा धानबाली तथा मानवीय क्षति समेत हुने गरेको पाइन्छ । आ.व. २०७०÷०७१ देखि हालसम्म निकुञ्जले राहतका लागि ५६ लाख ४ हजार ७८ रुपैयाँ वितरण गरेको निकुञ्जका सुचना अधिकारी न्यौपानेले बताउनुभयो । निकुञ्जमा वन्यजन्तुको आहारा बढाउने, पानीको व्यवस्थापन गर्ने, चोरी शिकारी नियन्त्रणका लागि निगरानी गर्ने, वन्यजन्तुको व्यवहार अध्ययन गर्ने कार्य भैरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले बताउनुभयो ।
निकुञ्ज भित्र रहेको सडकमा गुड्ने यातायातका कारण हुने दुर्घटनामा वन्यवन्तुको ज्यान जान थालेपछि यातायातको गति ४० किलोमिटर प्रतिघण्टा निर्धारण गरेका छौ ’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) शाहले भने, ‘छडके चेकजाँच गरेर ५० किमि प्रतिघण्टासम्म कुदाउने लाइ सम्झाउने र सो भन्दा बढी स्पिडमा सवारी साधन चलाउने कारवाही गर्न थालेका छौं’ ।
यसैबिच बाँके राष्ट्रिय निकुञ्जमा जनावरलाई पानीको व्यवस्था गर्नका लागि सोलार सहितको पोखरी निर्माण गरेको जनाएको छ । निकुञ्जले तीन ठाउँमा सोलारसहितको पानी पोखरी बनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) शाहका अनुसार, सोलारबाट मेसिन चार्ज हुने र पोखरीमा पाइपबाट दिनभरि नै पानी आइरहने व्यवस्था मिलाइएको छ । ‘हात्तीले पाइप देख्ने बित्तिकै तोडफोड गरिदिन्छ । वार्डेन शाहले भन्नुभयो, ‘हात्तीबाट बचाउनका लागि पाइपलाई जमिनमुनि गाडिएको छ ।’ खासमा निकुञ्जमा बोरिङसहितको पोखरी आवश्यक देखिएको छ । जनावरका लागि बाह्रैमास पानीको आवश्यकता पर्ने भएकाले बोरिङसहितका पोखरी बनाउन आवश्यक रहेको वार्डेन शाहको भनाई छ ।
निकुञ्जमा आकाशे पानी जम्मा गर्नका लागि ४० वटाजति पोखरी खनिएको छ । ती पोखरीमा बर्खामा परेको पानी जम्मा हुन्छन् । आकाशे पानी वर्षभरि पाइदैन । वार्डेन शाहले ४० मध्येमा दशवटा जति पोखरीमा पानी जम्मा भइरहने सुनाउनुभयो ।
बाँके राष्ट्रिय निकुञ्जमा चुरेको फेदमा पानीको समस्या छैन । राजमार्गछेउमा पानीको समस्या रहने गरेको छ । जनावरलाई पानी र घासै मैदानको व्यवस्था गर्न निकुञ्ज लागि परेको छ ।
बाँके राष्ट्रिय निकुुुञ्जमा अहिले २१ वटा बाघ रहेका छन । निकुञ्जमा बाघका लागि चाहिने आहारा प्रजातीका जनावर प्रशस्त रहेको वार्डेन शाह बताउँनुहुन्छ । बाघ पानी, आहारा खोज्दै र कतिपय चाहि बुढो भएपछि बस्ती आसपासमा आउने गरेको वार्डेन शाहको भनाई छ । ‘बाघ मान्छे खोज्दै हिड्दैन, पानी, आहारा खोज्दै वा बुढो भएपछि ऊ आफनो समुहबाट बाहिरिन्छ यता उता हुन्छ ’शाहले भन्नुभयो, यस्तो बेलामा मान्छेसंग जम्काभेट भयो भने आक्रमण गर्ने हो’ । बाघले मान्छेलाई मार्दै नमारेको भने होइन । गतवर्ष बाघले दुई जनालाई मारेको थियो । अहिलेसम्म बाँकेमा राजमार्गमा बाघले मान्छेलाई आक्रमण गरेको पाइएको छैन ।
