नेपालगन्ज १४ पुष- बर्दियाका सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले नै खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धि मापदण्ड औसत रुपमा ३८ प्रतिशत मात्र पूरा गरेको पाईएको छ । जिल्लाका ३३ वटा स्वास्थ्य संस्था मध्ये २५ वटामा गरेको अध्ययनले औसत ३८÷५६ प्रतिशत मापदण्ड मात्रै पूरा गरेको एक अध्यनले देखाएको हो । स्वीजरल्याण्डको टी डी एच फाउण्डेसनको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ (गेरुवा) बर्दियाको प्रयास परियोजनाले जिल्लाका ३३ वटा स्वास्थ्यमध्ये २५ वटामा अध्ययन गरेको हो ।
संघले गत आइतबार गुलरियामा आयोजना गरेको स्वास्थ्य सेवा प्रदायक संस्थामा खानेपानी सरसफाइ तथा स्वच्छता विषयमा सञ्चारकर्मीसँगको पैरवी कार्यक्रममा अनुसन्धाता हरि सुवेदीले यो तथ्याङ्क सार्वजनिक गर्नुभएको थियो ।
विश्व स्वास्थ्य संगठन र युनिसेफले विभिन्न देशका स्वास्थ्य संस्थाहरुको खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी समग्र अवस्था अध्ययन गर्न तयार पारेको वास फिट विधिमा आधारित रहेर ५३ वटा सूचकबाट गरेको अध्ययनमा जिल्लाका कुनै पनि स्वास्थ्य संस्थाले मापदण्डको पूर्ण रुपमा पालना गर्न नसकेको अनुसन्धाता सुवेदीले प्रष्ट पार्नुभयो ।
राजापुर नगरपालिकाको बदालपुर स्वास्थ्य चौकीले ६२।२६ प्रतिशत सबैभन्दा धेरै मापदण्डहरु पुरा गरेको बताउदै सुवेदीले सबैभन्दा कम बारबर्दिया नगरपालिकाको पदनाहा स्वास्थ्य चौकीले १७÷६४ प्रतिशत मात्र पालना गरेको प्रष्ट पार्नुभयो । अध्यन गरिएका २५ वटा स्वास्थ संस्था मध्ये ५० प्रतिशत मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्था ४ वटा मात्र छन् ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले पनि सबै मापदण्ड पूरा गर्न नसकेको स्विकार्दै जिल्लाका स्वास्थ्य संस्थाहरु सुधारउन्मुख अवस्थामा रहेको दावि गर्नुभएको थियो । गेरुवा ग्रामीण जागरण संघका उपाध्यक्ष सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, बीबीसी संंवाददाता विमला चौधरी, संघका पूर्वअध्यक्ष लक्ष्मण चौधरी र प्रयास परियोजना संयोजक गोपाल कँडेलले खानेपानी, सरसफाइ र स्वच्छताका विषयमा धारणा राख्नुभएको थियो ।
