नेपालगन्ज २० असोज- हरेक मानिसका आ–आफ्नै जीवन भोगाइ, संघर्ष हुन्छन्, आ–आफ्नै कथा हुन्छन् । कतिले लेख्छन् कतिले लेख्दैनन्, फरक यतिमात्रै हो । क्रियटिभ बुक्स हरेक मानिसका प्रेरणादायी, संघर्षका कथाहरु बाहिर आउनु पर्छ भन्ने मान्यता राख्दछ । देश विकास र समाज परिवर्तनका लागि योगदान गरेका कसैको पनि कथा नामेट हुनु हुँदैन भन्ने हामी चाहन्छौं ।
यही सोच र विचार राखेर अघि बढेको क्रियटिभ बुक्स छोटो समयमै छैठौ पुस्तक प्रकाशनको तयारीमा जुटेको छ । यो भन्न पाउदा हामीलाई खुशी लागेको छ । यसको श्रेय हामी पाठकलाई नै दिन चाहन्छौं । हाम्रा प्रकाशनहरु पाठकले मन पराइदिनु भएकै कारण हामीलाई अझ परस्कृत भएर विभिन्न व्यक्तित्वहरुको जीवन कथा लेख्न प्रेरणा मिलेको छ ।
यसपाली हामीले नेपालगञ्जका चर्चित र सफल कानून व्यवसायी लोकबहादुर शाहको जीवन संघर्षको कथा बाहिर ल्याउने तयारीमा छौं ।
सफल युवा कानून व्यवसायीको परिचय बनाइसकेका अधिवक्ता लोकबहादुर शाहले आफ्नै विगतमाथि लेखेको पुस्तक हो, ‘चौकीदारदेखि वकिलसम्म ।’ सुदूरपश्चिमी पहाड अछामको गरिबी र दुःखले थिचेको विकट गाउँबाट उठेर शाहले फराकिलो क्षितिज पहिल्याउँदाको जीवन संघर्षको कथा पुस्तकमा उतार्नु भएको छ ।
छाउपडी प्रथा, हटारु जीवनशैली र भारतको चौकीदारीको आफ्नै अनुभूति मात्र होइन, उहाँले व्यवसायिक संघर्षका उतारचढावका संस्मरणहरु पनि समेट्नु भएको छ । अछामको तत्कालिन शान्तडा–३, सारागाउँमा जन्मिनु भएका अधिवक्ता शाहले मेलारुखको नेराप्राविबाट अध्ययन शुरु गर्नुभयो । २०४६ सालमा एसएलसी पास गरेपछि सुर्खेतमा आइएल पढ्नु भएका शाहले त्यसपछिको पढाई नेपालगञ्जबाट गर्नुभयो । २०५१ सालमा नेपालगञ्ज पढ्न आउनु भएका शाह यहीको स्थायी बासिन्दा हुनुभयो ।
एसएलसी पास भएपछि भारतको बम्बईमा दाजुहरुसँग चौकीदार गर्न गएको, नेपालगञ्जमा १८ वर्षको डेराको यात्रा, पहिलो बहस गर्दाको अवस्था, परिपक्व वकिल देखिन कालो कोट र जुँगा पालेका सम्झनाहरु कितावमा पढ्न पाइन्छन् । बराबरी मत आएपछि गोलाप्रथाबाट बारको अध्यक्ष हुनु भएका शाह गणित विषय छल्न कानुन बिषय पढ्नु भएको थियो । गणित पढ्न नपरोस् भनेर कानुन पढेका शाह कालान्तरमा नेपालगञ्जको मात्रै नभएर देशकै चर्चित कानूनी व्यवसायी बन्न सफल हुनु भएको छ । पुस्तकमा उहाँका दुःख र संघर्षहरु उतारिएको छ । पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले पुस्तकको सम्पादन गर्नु भएको हो । दुःखको चौघेरा पन्छाएर सफलताको सिढी चढ्न खोज्ने युवा पुस्ताका लागि पुस्तक प्रेरणादायी हुने हामीले विश्वास लिएका छौं । पुस्तक यही असोज महिनाको अन्तिममा बजारमा पठाउने तयारी गरेको क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी जानकारी गराउनुभयो ।
