एजेन्सी, २८ भदाै । प्रिमियर लिग फुटबलमा आर्सनलले उत्कृष्ट सुरुवात गरेको छ । शनिबार भएको नयाँ सिजनको पहिलो खेलमा आर्सनलले फुलहमलाई ३–० गोलले हराएको हो । फुलहमको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा लाकाजेटको गोलबाट पाहुना टोलीले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।
४९ औँ मिनेटमा ग्राबियलले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । डिफेन्डर ग्राबियलले आर्सनलका लागि डेब्यू खेलमै गोल गरेका हुन् । ५७ औं मिनेटमा कप्तान आबुमियाङले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए । यो सिजन मात्र आर्सनलमा आएको विलियनले तीन असिस्ट गरेका छन् । उनले तीनै गोलका लागि असिस्ट उपलब्ध गराएका थिए । उनी चेल्सीबाट आर्सनल आएका हुन् ।
