नेपालगन्ज ११ चैत्र
राती १२ बजेदेखि बाँकेमा लागु गरिएको जनता कफ्युको प्रभाव बजार सुनसान देखिएको छ ।
बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा, रिमझिम बजार, मदनचोक, मिलन चोक, अगैया, कुशुम बजार लगायतका बजार सुनसान छन् । रातीदेखि लागु गरेको जनता कफ्युलाई पालना गर्न र जनतालाई सचेत गराउन प्रहरीले माइकिंग गर्दै घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै आएको छ । मंगलबार बिहानै देखि नेपालगन्ज बजार सुनसान देखिएको छ । प्रहरीहरु सक्रिय रुपमा घर बाहिर अत्यावश्यक काम बाहेक निस्कन नदिन तैनाथ अवस्थामा रहेका छन् । फाट्टफुट्ट चलेका मोटरसाइकल र पैदलयात्रुलाई सोधपुछ गरी ईमर्जेन्सी काम भएकालाई छोडेको छ भने बाँकीलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

बजार पुर्ण रुपमा बन्द छ । उद्योग कलकारखाना, सवारीसाधान लगायत हिड्दुल समेत बन्द रहेको छ । जनता कर्फ्युको समयमा बाहिर हिड्ने जोकोहीलाई प्रहरीले बल प्रयोग गर्न सक्ने भएको हुनाले सबैलाई घरभित्रै सुरक्षित बस्न जिल्ला प्रहरी कार्यालय बाँकेले अनुरोध गरेको छ । सोमवार बसेको सुरक्षा निकायको छलफलले अत्यावश्यक सवारी साधान बाहेकका कुनैपनि सवारीसधान, पसल र हिड्दुल गर्न नपाउने गरि जनता कफ्यु लागु गरिएको जानकारी गराएको थियो ।







