नेपालगन्ज ०६ चैत्र
बिहीवार नेपालगन्जमा अटोरिक्सा चालकहरुले प्रदर्शन गरेका छन् । प्रहरीले आफुहरुमाथि ज्यादाति गरेको भन्दै बिहिबार अटो रिक्सा चालकहरुले बीपी चोकमा प्रहरीबिरुद्ध प्रदर्शन गरेका हुन् । ट्राफिक प्रहरीले आफुहरुलाई दैनिक चेकजाँचको नाममा दुःख दिइरहेको र अनावश्यक रुपमा फाइन लिने गरेको कारण आफुहरुले आन्दोलन गर्न परेको बाँकेको डुडुवा गाउँपालिका वडा नं.६ हिरमिनियाका अटोरिक्सा चालक अमृतराम महाउतले जानकारी दिनुभयो । दुःख गरेर कमाएको दिनभरीको रकम ट्राफिक प्रहरीले फाइनका नाममा लग्ने गरेको उहाँले आरोप लगाउनुभयो ।

साइडमा रोक्दा पनि, पार्किङ्गमा बस्दा पनि प्रहरीले आफुहरुलाई दुःख दिने गरेको अर्का आटोरिक्सा चालक नेपालगञ्जका भेषण कुमार शाहले बताउनुभयो । रकम जम्मा गरी गरी रिक्सा किनेर पेट पाल्न खोजेपनि पाल्न गाह्रो भएको उहाँको भनाई छ ।
पार्किङ्गका बेलामा प्रहरीले आफुहरुलाई लट्ठी हान्ने गरेको रिक्सा चालकहरु बताउँछन् । उनीहरुले केही सयमा बाटो अवरुद्ध समेत गरेका छन् । बाँकेमा करिब १२ हजार अटोरिक्सा रहेका छन् । यता जिल्ला ट्राफिक प्रहरीले भने अटो रिक्साका कारण दैनिक सडक दुर्घटना निम्तने गरेको हुनाले व्यस्थित गर्नको लागि कडाई गरिएको जानकारी गराएको छ । अस्तव्यस्त तरिकाले संचालन गरेको र उनिहरुको नम्बर प्लेट समेत स्पस्त नरहेको हुनाले निगरानी गरि कारवाही गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

