नेपालगन्ज ०६ असार – पश्चिम तराई क्षेत्रका अधिकांश ठाउँमा धान रोपाईको चटारो लागेको छ । असार लागेपछि बाँके, बर्दिया, दाङ, कैलाली, कन्चनपुर र कपिलवस्तु लगायतका अधिकांश ठाउँमा धान रोपाईको चटारो लागेको हो । थारु समुदायमा धान रोपाईको सुरुवाती चरण अरु समुदाय भन्दा फरक शैली रहेको छ । हरेक थारुबस्ती समुदायमा धान रोपाई हुनुभन्दा पहिलो दिन उनिहरुले गाउँभरीका समुदाय मिलेर सुङगुर अर्थात (जिता) मार्ने, र अन्य मिठा मिठा परिकार जस्तै माछामासु, सागपात, अन्न, घोघी, सिध्रा बनाई खेतमै गएर पुजा अर्थात (कल्वा खुवाई) गरेपछि मात्र खेत रोपाई सुरु गर्ने चलन रहेको छ । कल्वा खुवाईको दिन गाउँभरीका बासिन्दा आ आफ्नो घरबाट बनाएको परिकार खेतमै लगेर खाने गर्दछन् । खेतको पुजा गरि मिठा मिठा परिकार खेतमै खाने र अतिकति खेतको भाग पनि छोड्ने गर्दछन् । प्रबिधिसंगै थारु समुदायमा खेती गर्ने शैली परिवर्तन भएपनि खेतको उद्घाटन अर्थात कल्वा खुवाई भने परिवर्तन भएको छैन बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ३ का अगुवा लहानु थारुले भन्नुहुन्छ ।

पुर्खौपुस्ता देखि चल्दै आएको पराम्परालाई अंगाल्दै आईरहेका थारु समुदायमा शुक्रवार कल्वा खुवाई धुमधामका साथ मनाएका छन् । खेतमा खाना खानका लागी अर्थात कल्वा खुवाईका दिन पुरुषहरु खेतमा विहानै खेत जोत्न जाने र महिलाहरुले मिठा मिठा परिकार सहितको खाना लिएर खेतमा जाने र खाना खानभन्दा पहिला मेघा बाबा अर्थात मेघनाथलाई पहिला पुजा गरेर खान दिएपछि अरुले खाने चलन रहेको बर्दिया बढैयाताल गाँउपालिका वडा नं. ५ का किसान गोर्वधन थारुले बताउनुहुन्छ । आफ्नो आफन्तहरुलाई बोलाउने र घरबाट पकाएर खेतमा लगेका मिठा परिकार खान दिने चलन रहेको छ जसले गर्दा आफन्तको माया र भाईचारा बढ्ने पनि जनविश्वस गरिन्छ । जसले गर्दा धान उत्पादन र बर्खा राम्रो हुने गरेको बढैयाताल गाँउपालिका वडा नं. ५ कि स्थानीय लख्खी थारुले बताउनुहुन्छ । पछिल्लो समयमा थारु समुदायमा उन्नत जातका धान लगाउने र धेरै उत्पादन गर्ने तिर किसानहरु आकर्षित हुन थालेका छन् । तराई क्षेत्रमा नयाँ प्रबिधि र उन्नत जातका धान लगाएपनि रहनसहन र आफ्नो पुरानै सस्कृतिलाई बचाउँदै आईरहेका छन् ।
पुस्तौदेखि चल्दै आएको चलन र धानको उत्पादनमा समेत राम्रो हुने भएकोले कल्वा खुवाई अर्थात खेतमा खाना खाने यो पराम्परालाई थारु समुदायले अपनादै आएका छन् । थारु समुदायका मानिसहरुले अझैपनि पुस्तौदेखि चलिआएको रितिरिवाजलाई मान्यता दिदै आएका छन् । यसपछि थारु समुदायमा खेत सकेको दिन पनि हरधवा अर्थात खुसियाली खाने चलन रहेको छ ।
