(Wednesday 28th of October 2026)
`

कालोबजारी रोक्न संघको प्रतिबद्धता

  • सगरमाथा गन्तब्य
  • 9.2K
    SHARES

    नेपालगन्ज ०४ चैत्र
    बाँकेमा कोरोना भाइरसको संक्रमण हुन नदिन अपनाउनुपर्ने सजगताका बारेमा नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलवार अन्तरक्रिया कार्यक्रम गरेको छ । चिकित्सकको टोली समेतको सहभागितामा भएको कार्यक्रममा कोरोना भाइरसका बिरुद्धमा सजगता अपनाउन र सम्भावित कालोबजारी रोक्न दुई बुँदे सामूहिक प्रतिवद्धता समेत व्यक्त गरिएको संघले जानकारी दिएको छ ।
    संघमा भएको कार्यक्रममा कोरोना भाइरस नेपालमा भित्रिन नदिन जमुनाह नाकालाई प्रभावकारी नियमन गर्न र बाँकेमा रहेका स्वास्थ्य संस्थामा जनशक्ति एवं साधनस्रोत पर्याप्त मात्रामा राख्न सरोकारवाला निकायलाई दवाव दिने प्रतिवद्धता व्यक्त गरियो । त्यसका लागि संघले आवश्यक सहयोग गर्ने जानकारी दिएको छ ।
    कार्यक्रममा बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव र कालोबजारी भएको भन्ने जनगुनासो आइरहेको प्रति छलफल भएको थियो । कालोबजारी नगर्न अपील गर्दै त्यस्तो कार्य रोक्नका लागि बजार अनुगमन प्रभावकारी बनाउने कार्यमा पूर्णरुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।
    नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद मोहमद याकुव अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, सर्जन डा. खगेन्द्र जङ्ग शाह, जनस्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका सल्लाहकार, पदाधिकारी र कार्यसमिति सदस्य एवं उद्योगी, व्यवसायी सहभागि रहेका थिए ।
    डाक्टरद्धय थापा र शाहले कोरोना भाइरसबाट जोगिने उपाय र बाँकेमा स्वास्थ्य संस्थाले गरेको तयारीका बिषयमा जानकारी गराउनुभएको थियो । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोरोना संक्रमण बिरुद्धका सबै अभियानमा संघको पूर्ण साथ र सहयोग रहने बताउँदै उक्त कार्यक्रममा कालोबजारी नगर्न पटक पटक भनेको बताउँदै भन्नुभयो,—‘कालोबजारी नहोस् भनेर पटक पटक अपील गरेका छौ । फेरी पनि आग्रह गर्छु त्यस्तो अपराध कसैबाट नहोस् ।’ दुःख परेका बेला व्यवसायीले संधै साथ दिएको पनि मन्सुरीले बताउनुभयो । कार्यक्रममा सहभागिहरुलाई मास्क र स्यानीटाईजर वितरण गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology