(Monday 26th of October 2026)
`

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै, २०० खेलाडी सहभागी हुने

  • सगरमाथा गन्तब्य
  • 1.8K
    SHARES

    नेपालगन्ज, बाँके । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा आगामी कार्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा रहेको पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
    स्विमिङ खेलको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको नेपालगन्ज स्विमिङ क्लबले स्थापनाकालदेखि नै नियमित रूपमा राष्ट्रियस्तरका स्विमिङ प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो र दोस्रो संस्करणको सफल आयोजनापछि क्लबले तेस्रो संस्करणलाई अन्तर्राष्ट्रियस्तरमा सञ्चालन गर्न लागेको आज पत्रकार सम्मेलन गरि जनाएको छ ।
    नेपाल स्विमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजना हुने प्रतियोगितामा भारतका लखनउ, दिल्ली र पञ्जाबबाट समेत खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा भारतबाट करिब ५० जना र नेपालगन्जलगायत देशका विभिन्न स्थानबाट करिब १५० जना गरी कुल २०० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।


    प्रतियोगितामा आठ वर्षमुनिदेखि १७ वर्षमुनिका विभिन्न उमेर समूहका खेलाडी तथा १७ वर्षभन्दा माथिका खेलाडीले खुला विधामा प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरूले फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्ले विधामा प्रतिस्पर्धा गर्नेछन् । विभिन्न विधाअन्तर्गत कुल ५० वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकको भनाइ छ ।
    प्रतियोगितामा सहभागी हुने नेपालगन्जका खेलाडीलाई क्लबको समन्वयमा स्विमिङ प्रशिक्षक चन्दुमान चौधरी र दीपक परियारले होटल सिद्धार्थको स्विमिङ पुलमा नियमित प्रशिक्षण गराउँदै आएका छन् ।
    प्रतियोगितामा सहभागी खेलाडीलाई खेल अवधिभर नेपालगन्जका चारतारे स्तरका होटलमा निःशुल्क बसोबास तथा खानाको व्यवस्था आयोजक नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष केशब न्यौपानेले जानकारी गराउनुभएको छ ।
    प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्लबका अध्यक्ष केशव न्यौपानेले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology