नेपालगन्ज । स्वर्गीय केशव श्रेष्ठको स्मृतिमा प्रथम केशव श्रेष्ठ स्मृति कप–२०८३ खुल्ला जिल्ला स्तरीय दुई दिने तेक्वान्दो प्रतियोगिता आजदेखि सुरु भएको छ । फ्लोरिड एकेडेमी डुडुवा–५, बाँकेको आयोजना, सेट–अप तेक्वान्दो डोजाङको सहयोग तथा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको समन्वयमा आजदेखि दुई दिने प्रतियोगिता सुरु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका –१९ स्थित ‘द फार्म’ मा असोज १७ र १८ गते दुई दिन प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लाभरिका १४ वटा डोजाङका करिब ३२५ भन्दा बढी खेलाडी सहभागी भएका छन् । खेलाडीहरूले केरोगी र पुम्से विधामा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडी तथा डोजाङलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताले बाँकेमा तेक्वान्दो खेलको विकाससँगै नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिताका संयोजक तथा फ्लोरिड एकेडेमीका प्रिन्सिपल एवं अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर प्रेम पुनको अध्यक्षतामा भएको स्वर्गीय केशव श्रेष्ठको योगदानको स्मरण गर्दै प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । “केशव श्रेष्ठले तेक्वान्दो खेलको विकासमा पु¥याउनु भएको योगदानलाई सम्मान गर्दै उहाँको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेका हौँ,” संयोजक पुनले भन्नुभयो ।
उहाँले प्रतियोगितालाई केवल प्रतिस्पर्धाका रूपमा नभई बाँकेमा तेक्वान्दो खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ प्रतिभाको पहिचान गर्ने अवसरका रूपमा अघि बढाउन खोजिएको बताउनुभयो । “खेलकुदले स्वस्थ जीवनशैलीसँगै अनुशासन, आत्मविश्वास र राष्ट्रप्रतिको जिम्मेवारीको भावना विकास गर्छ । त्यसैले बालबालिका तथा युवालाई खेलकुदमा जोड्न यस्ता कार्यक्रम निरन्तर आवश्यक छन्,” पुनले जोड दिनुभयो ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना भएको प्रतियोगितामा सम्बन्धित डोजाङ, प्रशिक्षक, खेलाडी, अभिभावक तथा खेलप्रेमीहरूको सक्रिय सहभागिता रहेको थियो ।
स्वर्गीय केशव श्रेष्ठको स्मृतिमा प्रथम केशव श्रेष्ठ स्मृति कप–२०८३ खुल्ला जिल्ला स्तरीय दुई दिने तेक्वान्दो प्रतियोगिताको प्रमुख अतिथि प्याब्सन बाँकेका अध्यक्ष विकास बज्रचार्य, विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का सदस्य मन्सुर खाँन, तुलसी खड्का श्रेष्ठ, बुद्धि बहादुर थापा, प्याब्सन बाँकेका कोषाध्यक्ष प्रविण गिरी, अतिथिमा समाजसेवी दिनेश थापा, हिरेन्द्र शाही, चौलानी बुक्स कारकादोका मोहन चन्द, प्रविण सिजाली मगर, सन्तोष पुन मगर, लाल बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।


