नेपालगन्ज, ८ असोज । सगरमाथा इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुल नेपालगन्ज – १८, बाँकेमा अभिभावकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा नेशनल मल्टी केयर हस्पिटल प्रालि नेपालगन्जको सहयोगमा बुधवार विद्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
विद्यालयले अभिभावकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीमार्फत निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । शिविरमा विशेषगरी हाडजोर्नी, नसा च्यापिने तथा ढाडसम्बन्धी समस्याको परीक्षण र उपचारमा जोड दिइएको थियो ।
शिविरमा नेशनल मल्टी केयर हस्पिटलका कन्सल्टेन्ट अर्थोपेडिक एण्ड ट्रमा सर्जन डा. सैयद सद्दाम, फिजियोथेरापी विशेषज्ञ डा. रोशन विक, अस्पतालका म्यानेजर युवराज काफ्लेसहित व्यवस्थापन टोलीले अभिभावकलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

शिविरबाट १ सय २५ जना अभिभावकले हाडजोर्नी, नसा च्यापिएको तथा ढाडसम्बन्धी समस्या पहिचान तथा फिजियोथेरापी सेवा लिएका छन् । स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र थेरापी सेवा समेत उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।
विद्यालयमा पहिलोपटक अभिभावकलाई लक्षित गरी विशेषज्ञ चिकित्सकको टोलीमार्फत निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिएको अस्पतालका डा. सैयद सद्दामले जानकारी दिनुभयो । उहाँका अनुसार अभिभावकको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै समयमै समस्या पहिचान गरी आवश्यक उपचार तथा परामर्श उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

स्वास्थ्य शिविरमा विद्यालयका संस्थापक अध्यक्ष कृष्णबहादुर जिसी, एमडी कौशलराज पाण्डेय, सीईओ रोशनी जिसी, प्रवक्ता साहिल अन्सारी, शिक्षकलगायतको सहभागिता रहेको थियो ।
विद्यालयले अभिभावकसँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै उनीहरूको स्वास्थ्य र कल्याणलाई समेत शैक्षिक गतिविधिको महत्वपूर्ण पक्षका रूपमा अघि बढाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।









