कोहलपुर, बाँके : नेपाली संगीतप्रेमीका लागि नयाँ सांगीतिक प्रस्तुति ‘तिर्सना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक ओम शर्मा र गायिका बिन्दु परियारको सुमधुर स्वरमा सजिएको गीतको म्युजिक भिडियो शनिवार असोज ३ गते कोहलपुरस्थित सुनाखरी रेस्टुरेन्टमा सार्बजनिक गरिएको हो । प्रेम, भावना र सांगीतिक मिठासलाई समेटिएको ‘तिर्सना’ म्युजिक भिडियोमा दुर्गा राणा मगर, नवीन जिसी, सम्झना खनाल र सफल डि.के.को अभिनय रहेको छ । भिडियोमा कलाकारहरूको अभिनयमार्फत गीतको भावनालाई जीवन्त बनाउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।
गीतको कन्सेप्ट, कथा तथा निर्देशन नवराज सुवेदीले गरेका छन् । कलाकार तथा प्राविधिक टोलीको मेहनत, सिर्जनशीलता र सहकार्यबाट म्युजिक भिडियोलाई आकर्षक बनाउने प्रयास गरिएको निर्देशक सुवेदीले बताएका छन् ।
‘तिर्सना’ म्युजिक भिडियोको सार्वजनिक कौशिल्या अस्पतालका कार्यकारी निर्देशक राम न्यौपाने , साहित्यकारहरु कपिल अन्जान, महेन्द्र सेढाई, देवकी निरौला, खोपिराम ओलि लगाएतले गरेका छन । उनिहरुले भिडियोलाई संयुक्त रुपमा सार्वजनिक गरेका हुन ।
स्थानीय कला, संगीत र कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा बाँके तथा आसपासका कलाकार, पत्रकार, सञ्चारकर्मी, कला–संगीतप्रेमी तथा शुभचिन्तकहरुको उपस्थिती रहेको गायक ओम शर्माले बताउनुभयो ।
‘तिर्सना’ मार्फत नेपाली संगीतमा नयाँ स्वाद र स्थानीय कलाकारको सिर्जनात्मक पहिचानलाई दर्शकमाझ पु¥याउने अपेक्षा गरिएको छ । निर्माण पक्षले दर्शक तथा संगीतप्रेमीको माया, साथ र हौसलाले आगामी सिर्जनाका लागि थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेको छ ।
