नेपालगन्ज, । बाँके कला केन्द्र नेपालगन्जले बाढीपीडित परिवारका लागि राहतस्वरूप आर्थिक सहयोग प्रदान गरेको छ ।
भदौ १० गते आएको भीषण बाढीका कारण भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेपछि बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बाँके कला केन्द्रले ५१ हजार रुपैयाँ सहयोग गरेको बाँके कला केन्द्र नेपालगन्जका अध्यक्ष सुन्दर गुरुङले जानकारी दिनुभयो ।
बाढीका कारण रसुवा, चितवन, धादिङलगायत विभिन्न जिल्लामा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग आवश्यक पर्ने भएकाले केन्द्रले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

केन्द्रले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु मानवीय दायित्व भएको भन्दै केन्द्रका आजिवन समिति सदस्य, कार्यसमिति सदस्य पदाधिकारी लगायत सम्पुर्ण कलाकारहरुलाई समेत सामाजिक सेवामा जोड्ने उद्देश्यले राहत सहयोग गरेको केन्द्रले जनाएको छ ।
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको दैनिकीमा समेत गम्भीर असर पर्ने भएकाले राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको केन्द्रले जनाएको छ । बिहीवार बाँके कला केन्द्रका सम्पुर्ण टिम जिल्ला प्रशासन कार्यालय बाँकेमा गई प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई बैंकमा जम्मा गरेको भौचर हस्तान्त्रण गर्नुभएको थियो ।

