(Wednesday 28th of October 2026)
`

बाल संरक्षण व्यवस्थापन प्रभावकारी बनाउन जानकी गाउँपालिकाको समीक्षा

  • सगरमाथा गन्तब्य
  • 3.5K
    SHARES

    नेपालगन्ज, । जानकी गाउँपालिकामा बाल संरक्षण व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले समीक्षा बैठक बिहीबार नेपालगन्जमा सम्पन्न भएको छ ।
    सामाजिक विकास मञ्च (एसडिएफ) बाँके र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिका बाँकेको समन्वयमा आयोजित बैठकमा बाल संरक्षणका घटना व्यवस्थापन, सुधारात्मक कार्ययोजना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको हो ।
    हातेमालो परियोजनाका कार्यक्रम संयोजक भिम बहादुर सार्कीले सहभागीहरूलाई समूह विभाजन गरी जानकी गाउँपालिकामा बाल संरक्षणका घटनाहरूको व्यवस्थापन कसरी गर्ने, जोखिममा रहेका बालबालिकाको संरक्षणका लागि अपनाउनुपर्ने उपाय तथा सुधारात्मक कार्ययोजनाका पाँच प्रमुख पक्षबारे अन्तरक्रियात्मक छलफल गराउनुभएको थियो ।
    उहाँले बाल संरक्षणसम्बन्धी नीति तथा कार्यक्रमलाई व्यवहारमा कार्यान्वयन गर्दै अपाङ्गता भएका, कुपोषणको जोखिममा रहेका, अनाथ तथा आर्थिक रूपमा विपन्न बालबालिकालाई प्राथमिकतामा राखी उनीहरूलाई अन्य बालबालिका सरह सहज र सुरक्षित वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।


    कार्यक्रम संयोजक सार्कीका अनुसार जानकी गाउँपालिकामा अपाङ्गता, गरिबी, अशिक्षा, अनाथ, कुपोषण जस्ता धेरै बालवालिका पिडित रहेका छन् । उनीहरूको समस्या फरक–फरक प्रकृतिको भएकाले आवश्यकताअनुसार सेवा, सहयोग र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न हातेमालो परियोजनामार्फत सहकार्य गरिने जानकारी दिनुभयो । समीक्षा बैठकको अध्यक्षता जानकी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख रामअचल धोबीले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष छव्वन खाँ, महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहा, सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, गाउँपालिकाका वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, बालक्लबका पदाधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
    कार्यक्रममा सहभागीहरूले बाल संरक्षण व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, समुदाय र सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।
    कार्यक्रमको स्वागत मन्तव्य महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहाले व्यक्त गर्नुभएको थियो । बैठकले बाल संरक्षण सेवा प्रवाहलाई थप प्रभावकारी, पहुँचयोग्य र बालमैत्री बनाउने दिशामा साझा प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्ययोजनालाई कार्यान्वयन गर्ने निष्कर्ष निकालेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology