बाँके। बाँकेको नेपालगञ्जमा समुदायप्रति संवेदनशील, जिम्मेवार र प्रभावकारी पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले पत्रकारहरूको क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा समुदायका लागि सञ्चार अभियान, नेपाल नेपालगन्जको समन्वयमा आयोजित कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिरले गरेका हुन्। मन्त्रालयका वरिष्ठ उपसचिव सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायतले पत्रकारिताको व्यावसायिकता, उत्तरदायित्व र समुदायमैत्री सञ्चारको आवश्यकताबारे धारणा राखेका थिए। कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत केशरी शर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने मन्त्रालयका अधिकृत भूपबहादुर मल्लले कार्यक्रम सञ्चालन गरेका थिए। क्षमता अभिवृद्धि कार्यक्रममा अधिवक्ता बसन्त गौतम, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, शंकरप्रसाद खनाल र सावित्री गिरीले पत्रकारितासम्बन्धी विभिन्न विषयमा सहजीकरण तथा प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।कार्यक्रममा बाँकेमा रही विभिन्न मिडियाहरुमा कार्यरत सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।