(Friday 11th of September 2026)
`

शिक्षा, संघर्ष र सामाजिक दृष्टिकोणको कथा हो ‘गौँथली’

  • सगरमाथा गन्तब्य
  • 1.9K
    SHARES

    लक्ष्मी तिमिल्सेना – असार २१ गते । चलचित्र ‘गौँथली’को टिमले नेपालगन्जमा अन्तरक्रिया गरेको छ । आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण टिमले बाँकेका पत्रकारहरु सित अन्तरक्रिया गरेको हो ।
    अन्तरक्रिया कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक डा. कपिल रिजालले ‘गौँथली’ सामाजिक र पारिवारिक कथावस्तुमा आधारित रहेको बताउनुभयो । ‘गौँथली’ले एउटी युवतीको शिक्षा प्राप्तिको संघर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई प्रस्तुत गरेको उहाँले बताउनुभयो । चलचित्र बनाउने कुरा मनोरन्जन र पैसासंगै सामाजिक उत्तरदायित्व पनि भएको भन्दै उहाँले ‘गौँथली’ चलचित्र हेर्न जाँदा पढ्न र सिक्न जाने भन्दा पनि आत्माआलोचनाका लागी ‘गौँथली’ हेर्नु आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,–‘यो फिल्ममा हामीले व्यवसाय र सामाजिक उत्तरदायित्वलाई सन्तुलनमा राखेका छौं ।’
    प्रदर्शनको तयारीमा रहेको ‘गौँथली’ चलचित्रका विशेषताबारे जानकारी दिँदै निर्माता सुमन गिरीले समग्र नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे धारणा राख्नुभएको थियो । उहाँ नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढाउन गुणस्तरीय कथा, प्रविधि र सबै सरोकारवालाबीचको सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । ‘विषेशगरि पैसा कति कमाईएला वा व्यापार कति होला भनेर भन्दा पनि कथा राम्रो लागेर ‘गौँथली’ निर्माण गरेका हौं ।’–उहाँले भन्नुभयो ।


    पुरातनबादी समाज र सोचसँग संघर्ष गरिरहेकी एक युवती र शारीरिक रूपमा फरक रहेका व्यक्तिले देखाउने फरक–फरक क्रियाकलापलाई समाजले हेर्ने दृष्टिकोण चलचित्र मार्फत पस्किने प्रयास गरेको सिनेमाका मुख्य पात्र अरुण क्षेत्रीले बताउनुभयो ।
    चलचित्र पत्रकार संघ बाँके शाखाको आयोजनामा गरिएको उक्त कार्यक्रममा चलचित्र पत्रकार सङ्घ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेलले अध्यक्षता गर्नु भएको थियो । चलचित्रको टिमबाट अभिनेत्री सिम्रन खड्का, अभिनेता अरुण क्षेत्री, निर्देशक डा. कपिल रिजाल, निर्माता सुमन गिरी, मुख्य सहायक निर्देशक गिरिराज घिमिरे, याङ्गो हल चितवनका सञ्चालक शिव उप्रेती, चलचित्र पत्रकार सङ्घ नेपालका निर्वतमान उपाध्यक्ष सुरक्षा भट्टराई लगायत सहभागी हुनुहुन्थ्यो ।
    ‘गौँथली’मा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गर्नुभएको छ ।
    डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गर्नुभएको छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुनुहुन्छ । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।
    शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ । ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गर्नुभएको थियो । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो ।

    DSC_6892

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology