बाँके — प्रेम, विश्वास र समर्पणको सन्देश बोकेको नयाँ नेपाली गीत प्रेमको जित भइरन्छ सार्वजनिक भएको छ । गीतकार, निर्देशक तथा छायाङकार कुन्दन चन्दको शब्द, निर्देशन र प्राविधिक नेतृत्वमा तयार भएको गीत कोहलपुर मिडिया हाउसको ब्यानरबाट सार्वजनिक गरिएको हो ।
गीतमा आधुनिक प्रविधि कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दै स्वर, संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ प्रविधिको प्रयोगमार्फत फरक स्वाद दिने प्रयास गरिएको निर्माण टिमले जनाएको छ ।
गीतको म्युजिक भिडियोमा राजन कुमार बैश्य र भावना चौधरीले अभिनय गरेका छन् । प्रेममा आउने उतारचढाव, विश्वास, त्याग र अन्ततः साँचो प्रेमको विजय हुने सन्देशलाई भिडियोमार्फत कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
भिडियोको निर्देशन, छायांकन तथा ड्रोन सिनेमाटोग्राफी कुन्दन चन्द स्वयंले गर्नुभएको हो । त्यसैगरी सम्पादन तथा कलर ग्रेडिङको जिम्मेवारी पनि उहाँले नै सम्हाल्नुभएको छ । मेकअप कलाकारका रूपमा कृतिका चौधरीले काम गर्नुभएको छ ।
गीतको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य कोहलपुर मिडिया हाउस, कोहलपुर–बाँकेमा सम्पन्न गरिएको हो ।
निर्माण टिमका अनुसार प्रेमको जित भइरन्छले साँचो प्रेम कहिल्यै पराजित नहुने सन्देश दिन खोजेको छ । आधुनिक प्रविधि र सिर्जनात्मक प्रस्तुतिको संयोजनमा तयार गरिएको यो गीतले नेपाली संगीतप्रेमीमाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।

