नेपालगन्ज : आफ्नो जन्मदिनको अवसर पारेर नियमित स्वयँसेवी रक्तदाता लवराज
खरेलले बुधवार रक्तदान दिनु भएको छ । विगत २० वर्षदेखि हरेक तीन महिनामा निरन्तर रक्तदान अभियान आयोजना गर्दै आएको जनमत अद्र्ध साप्ताहिकका स्वयम्सेवी नियमित रक्तदाता खरेलले यो समेत ६४ औं पटक रक्तदान गर्नु भएको हो ।
राप्ती सोनारी गाउँपालिका वडा नं.६ का अध्यक्ष तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका उपशाखाका सल्लाहकार खरेलले हरेक तीन महिनामा नियमित रक्तदान गर्नु हुन्छ ।
यसैगरि नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका उपशाखाकी उपाध्यक्ष स्वयम्सेवी नियमित रक्तदाता अमृता केसीले पनि २८ औं पटक रक्तदान गर्नु भएको छ । स्वयम्सेवी रक्तदाता केसीले आफुले हरेक तीन महिनामा रक्तदान गर्ने बानी बसेको र समय तलमाथि भयो भने शारीरिक समस्या सिर्जना हुने बताउनु भयो ।

नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा रक्तदान गर्नुहुने उहाँहरु दुबै जनाले ठिक तीन महिना अघि मंसीर २७ गते सम्पन्न जनमतको ६७ औं रक्तदान श्रृङ्खलामा ६३ औं पटक रक्तदान गर्नु भएको थियो र जनमतको ६८ औं श्रृङ्खलाको रक्तदान कार्यक्रम विशेष कारणवस यही फागुन ३० गते शनिवारको सट्टा चैत्र ७ गते शनिवारका दिन आयोजना गरिने जनमत रक्तदान कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालले जानकारी दिनु भयो ।
नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार निर्वाचनको लामो विदाका कारण केहि सातायता रक्तदान कार्यक्रम आयोजना नभएको हुँदा अहिले ब्लड बैंकमा रगतको अभाव हुन थालेको छ ।
