(Wednesday 28th of October 2026)
`

१७ वर्षीया इनिसा बि.क.को बलात्कारपछि हत्या, न्यायको माग गर्दै परिवार र स्थानीय आक्रोशित

  • सगरमाथा गन्तब्य
  • 5.1K
    SHARES

    सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ६ बडाखोली स्थायी घर भएकी १७ वर्षीया इनिसा बि.क. बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेपछि स्थानीय क्षेत्र शोक र आक्रोशमा डुबेको छ ।
    इनिसा हाल वीरेन्द्रनगरमा बस्दै कक्षा ११ मा अध्ययनरत थिइन् । जानकारी अनुसार, उनी शनिबार बिहान “ट्युसन पढ्न जान्छु” भन्दै घरबाट निस्किएकी थिइन् । तर लामो समयसम्म घर नफर्किएपछि आमाले फोन गर्दा उनको मोबाइल अफ आएको थियो । त्यसको केही समयपछि भने अज्ञात नम्बरबाट फोन आयो । फोन गर्ने व्यक्तिले भनेको थियो “तपाईंकी छोरी सुर्खेतको सहिद पार्कमा बेहोस अवस्थामा छिन् ।”
    छोरीको खबर सुन्नासाथ आमा तुरुन्त घटनास्थल पुगिन् । त्यहाँ पुग्दा छोरीको शरीर रगतले लतपतिएको देखेपछि आमा समेत बेहोस भएकी थिइन् ।
    त्यसपछि प्रहरीले इनिसालाई सुर्खेतको काला गाउँस्थित प्रदेश अस्पताल पु¥यायो । तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरे । नेपाल प्रहरीले घटनाको गहन अनुसन्धान सुरु गरेको जनाएको छ र यस सम्बन्धमा एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
    उता मृतकका परिवारजन र स्थानीयवासीले दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने र घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै प्रशासन, प्रहरी र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
    यसैबीच सामाजिक सञ्जालमा भने इनिसामाथि उनकै प्रेमीसहित अन्य तीन युवक मिलेर बलात्कारपछि हत्या गरेको भन्ने चर्चा फैलिएको छ । तर यसबारे आधिकारिक पुष्टि भने हुन बाँकी रहेको छ ।
    हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परिवारजन र स्थानीयको एउटै आवाज छ “दोषी जो भए पनि छाडिनु हुँदैन, इनिसालाई न्याय चाहिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology