नेपालगन्ज – बामपंथीको आधारक्षेत्र समेत मानिने लुम्बिनी प्रदेशमा नेकपा एमालेका दिग्गज नेताले चुनाव हार्दा बाँके–२ मा इस्तियाक राई बिजयी हुनु भएको छ । संसदीय राजनीतिमा बाँके–२ एमाले पार्टीको लागि पहिलोपटक जित निकाल्नु भएको राईले नै लुम्बिनी प्रदेशमा एमालेको ‘साख’ जोगाइदिनु भएको हो ।
यहाँ २४ हजार ६२६ मत ल्याएर उहाँले एमालेका निम्ति जितको खाता खोल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठ निकटतम प्रतिद्वन्द्वी बन्नुभयो ।
श्रेष्ठले १८ हजार ५८१ मत ल्याउनु भएको थियो । ६ हजारको मतान्तरमा जितेका ईश्तियाकले गणनाभर अग्रता लिनुभएको थियो । उहाँको अग्रता र जित एमालेको निम्ति ठूलै राहत बन्न पुगेको छ ।

लुम्बिनी एमाले उपाध्यक्ष बिष्णु पौडेल, गोकर्ण बिष्ट, महासचिव शंकर पोखरेल जस्ता दिग्गज नेताले चुनाव हारेका छन् भने अन्य ठाउँमा पनि जित निकाल्न सकेनन् । यस्तो परिस्थितिमा राईले जितेर एमालेको साख जोगाइदिएका हुन । बाँके–२ मा हालसम्म संसदीय चुनावमा एमालेले जित्न नसकेको रेकर्ड पनि उहाँले तोडिदिएका छन् ।
राईको बिजयले एमाले पंक्तिमा उत्साह जागेको बताउँछन् नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ । उहाँ भन्नुहुन्छ,–‘ एमालेका लागि यो एतिहासिक जित सावित भयो । कहिल्यै जितिदैन भन्ने ठाउँमा पार्टीको झन्डा फरफराएका छौं ।’
एमालेले कहिल्यै जित्न नसकेको यो क्षेत्रमा व्यक्तिगत रुपमै बलियो’ रहेका मोहम्मद इस्तियाक राई एमालेमा आएर उम्मेदवार बनेपछि शुरुदेखि नै एमालेका नेता तथा कार्यकर्ता उत्साहित भएका थिए ।
‘ पश्चिम नेपालको चर्चित नेपालगन्ज शहर र डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नम्बर २ मा राईको उपस्थितिले एमालेमात्रै बलियो भएको छैन, यसपालीको चुनाव स्पष्ट रुपमा जित्ने आधार बनेको थियो र आखिर जितेरै छाड्यौ ।’–गुरुङले भन्नुभयो ।

