नेपालगन्ज । फागुन ६ – नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाँकेका उम्मेदवार मोहम्मद इश्तियाक राई बुधवार डुडुवा क्षेत्रमा चुनावी कार्यक्रमहरूमा सहभागी हुनुभएको छ । बिहान ८ बजेदेखि डुडुवामा राईको घरदैलो र कोणसभा चलिरहेको छ ।
डुडुवा– २ बाट बुधवार विहान चुनावी प्रचार–प्रसचार सुरु गर्नुभएका राईले दिउँसोदेखि घरदैलो गरिरहनुभएको छ । बुधवार वडा नं २ का मतदाताहरूको घरघरै पुगेर राईले आफ्ना चुनावी अजेन्डाहरू प्रस्तुत गरिरहनुभएको छ । राइले डुडुवामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, दक्ष जनशक्तिको व्यवस्था गर्ने, बाढी र डुबानको समस्या समाधान गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
बाढी र डुबान नियन्त्रण गर्न डुडुवा १ र २ नम्बर वडा चौफेरी र पाझामा राप्ती नदीमा तथा डुडुवा खोलाका आवश्यक ठाउँहरूमा पक्की तटबन्ध निर्माण गर्ने राईले प्रतिबद्धतापत्र मार्फत घोषणा गरिसक्नु भएको छ । त्यस्तै वेतहनी–होलिया–चौफेरी–नरैनापुर जोड्ने सडक र त्यहाँ आवश्यक पर्ने पुलहरू निर्माण गर्न आफूले पहल गर्ने पनि उम्मेदवार राईको प्रतिबद्धता छ ।
डुडुवा लगायत पालिकास्तरमा रहेका १५ शैय्याका अस्पताल र स्वास्थ्य चौकीहरूलाई सुविधा सम्पन्न बनाउँदै प्रसुति सेवा सुरु गर्न आफू क्रियाशील हुने राईको भनाई छ । यसैबीच नेपाली कांग्रेसका नेता एवम् डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीको टोल सन्तलियाका दर्जनौं युवाहरू बुधवार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गर्नुभएकाहरूलाई उम्मेदवार राई लगायतले स्वागत गर्नुभएको थियो । उम्मेदवार राईले बुधवारै साँझ नेपालगन्जको वडा नं ७ प्रगति मार्गमा कोणसभा र घरदैलो गर्ने कार्यक्रम तय भएको छ ।
