नेपालगन्ज – थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई केन्द्रमा राख्दै दोस्रो बैजनाथमा थारु माघ महोत्सव शुक्रवारदेखि सुरु हुने भएको छ । “हमार संस्कृति, परम्परा ओ पहिचान पूर्ण समानुपातिक प्रतिनिधित्व करिना बडघरियनके अभियान” भन्ने मूल नारासहित पुष २५ र २६ गते बैजनाथ गाउँपालिका वडा नं. ३ सुतैयामा दुई दिने महोत्सव आयोजना हुन लागेको हो । बैजनाथ बडघर तथा थारु महिला सञ्जालको आयोजनामा हुन लागेको यस महोत्सवले थारु समुदायको माघ पर्व, यसको ऐतिहासिक महत्व र वर्तमान अवस्थालाई उजागर गर्ने अपेक्षा गरिएको छ ।
थारु समुदायमा माघ पर्वको ऐतिहासिक महत्व
थारु समुदायका लागि माघ पर्व केवल चाडपर्व मात्र नभई नयाँ वर्षको सुरुवातको प्रतीक हो । माघ १ गतेदेखि थारु समुदायमा नयाँ कार्यचक्र सुरु हुने गरिन्छ । खेतीपातीको चक्र सकिने, पुराना दुःख–कष्ट बिसाएर नयाँ आशा र संकल्पसहित जीवन सुरु गर्ने परम्परा माघसँग जोडिएको छ ।
आयोजक समितिका संयोजक चन्द्र चौधरीका अनुसार माघ महिनामा बडघर (गाउँ प्रमुख) चयन गरिने, सामूहिक भोज खाने, देवी–देवताप्रति पूजाआजा गर्ने र गाउँको नीति–नियम नवीकरण गर्ने चलन रहिआएको छ । “माघ हाम्रो पहिचान हो, इतिहास हो र सामाजिक एकताको आधार हो,” उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो । माघ पर्वमार्फत थारु समुदायले सामूहिकता, श्रम संस्कृति र आपसी सहयोगको सन्देश पुस्तौंदेखि हस्तान्तरण गर्दै आएको उहाँको भनाइ थियो ।
माघ कसरी मनाइन्छ ? परम्परा र संस्कार
थारु समुदायमा माघ पर्व विशेष तयारीका साथ मनाइन्छ । माघको अघिल्लो दिन घरघरमा सरसफाइ गरिन्छ, नयाँ लुगा किन्ने र परिकारको जोहो गरिन्छ । माघ १ गते बिहानै नदी, पोखरी वा धारामा स्नान गरी देवी–देवताप्रति पूजा गर्ने चलन छ । त्यसपछि खिचडी, ढिक्री, घोंघी, माछा, सुँगुरको मासुजस्ता परम्परागत खानाले माघको भोज सजिन्छ ।
यसै महिना दिनमा गाउँको बडघर चयन गरिन्छ, जसले वर्षभरि गाउँको नेतृत्व, न्याय–निसाफ र व्यवस्थापनको जिम्मेवारी सम्हाल्छ । बडघर प्रणाली थारु समुदायको प्राचीन लोकतान्त्रिक अभ्यास मानिन्छ । सहसंयोजक महेन्द्र चौधरीका अनुसार माघ महोत्सवमा यही बडघर प्रणाली, थारु नाच, गीत, भेषभूषा, खानपान र लोककला प्रदर्शन गरिनेछ । महोत्सवको उद्घाटन बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले गर्ने जानकारी पनि उहाँले दिनुभयो ।
संस्कृति संरक्षण र चुनौतीको बहस
पत्रकार सम्मेलनमा थारु समुदायको संस्कृति संरक्षणमा देखिएका चुनौतीहरूमाथि समेत छलफल गरिएको थियो । सहसंयोजकले माघ पर्व कसरी सुरु भयो, बडघरको भूमिकाको महत्व र आधुनिकतासँगै थारु संस्कृति कसरी हराउँदै गइरहेको छ भन्ने विषयमा चिन्ता व्यक्त गर्नुभयो ।
बैजनाथ गाउँपालिकाका १ देखि ८ वटै वडाका बडघरहरूको सहभागितामा सम्पन्न कार्यक्रममा संस्कृतिको संरक्षणका लागि छुट्याइएको बजेट अन्य प्रयोजनमा खर्च हुने गरेको गुनासो समेत उठाइएको थियो । बडघरहरूले थारु समुदायको उत्थान र पहिचान जोगाउन स्थानीय सरकार, थारु अगुवा र युवापुस्ताले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
दोस्रो बैजनाथ थारु माघ महोत्सवले केवल उत्सवको माहोल सिर्जना मात्र होइन, थारु समुदायको इतिहास, पहिचान र भविष्यबारे गम्भीर बहसको थलो बन्ने अपेक्षा गरिएको छ । माघ पर्वको महत्वलाई पुस्तान्तरण गर्दै संस्कृतिको संरक्षण र प्रवद्र्धनमा यो महोत्सव महत्वपूर्ण कदम हुने आयोजकहरूको विश्वास छ । महोत्सवमा बैजनाथका ३६ गाउँको नाच रहने आयोजकले जनाएको छ ।

