(Friday 11th of September 2026)
`

भिडियो सम्पादनदेखि निर्देशनसम्म : कुन्दन चन्दको उडान

  • कलाक्षेत्रमा नयाँ छाप : चन्दको बहुआयामिक यात्रा
  • सगरमाथा गन्तब्य
  • 13.3K
    SHARES

    नेपालगन्ज — नेपाली कला क्षेत्र निरन्तर नयाँ सम्भावना र प्रतिभाको खोजीमा छ । यही क्रममा पछिल्लो समय भिडियो सम्पादन, निर्देशन र कलाकारितामा मजबुत उपस्थिति जनाउँदै आएका नाम हुन— कुन्दन चन्द । बहुआयामिक क्षमताका धनी कुन्दन चन्द कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै गएका छन् ।
    बारबर्दिया नगरपालिका वडा नं. ८ दुध्धा घर भई हाल कोहलपुरमा बसोबास गर्दै आएका कुन्दन चन्द अहिले कोहलपुर कला केन्द्रका निर्देशकको रूपमा सक्रिय छन् । विगत पाँच वर्षदेखि निरन्तर नृत्य निर्देशन गर्दै आएका कुन्दनले म्युजिक भिडियो, सर्ट मुभी तथा विभिन्न दृश्य–श्रव्य माध्यममा मुख्य भूमिका निर्वाह गरिसकेका छन् । कलाकारितासँगै नृत्य निर्देशन, भिडियो निर्देशन, क्यामराम्यान र म्युजिक भिडियो फिल्म सम्पादनमा समेत उनको दखल उल्लेखनीय छ ।
    कुन्दन चन्दको परिचय अब केवल स्थानीय कलाकारमा सीमित छैन । पछिल्लो समय उनको कामको प्रशंसाले उनलाई ठूलो पर्दाको चलचित्रमा समेत काम गर्ने अवसर दिलाएको छ । हालै मात्र उनले चलचित्र माइतीघरको टिमसँग म्युजिक भिडियोको छायाङ्कनको जिम्मेवारी पाएका थिए । यससँगै काठमाडौँस्थित अर्को टिमसँग डोल्पाको रमणीय दृश्यमा म्युजिक भिडियो छायाङ्कन गरेर फर्किएका कुन्दनको उक्त गीत अहिले युट्युबमार्फत सार्वजनिक भइसकेको छ ।


    आफ्नो निरन्तर मिहिनेत र सिर्जनात्मकताका कारण कुन्दन चन्दले कलाकारिताबाट नयाँ छाप बसाल्न सफल भएका छन् । “कलाक्षेत्रबाटै मैले आफ्नो घरखर्च चलाउँदै आएको छु । यही पेशाले मलाई सन्तुष्टि दिएको छ,” कुन्दन भन्छन्, “यो क्षेत्रले नै मलाई कुन्दन चन्दको नाम देश–विदेशमा चिनायो, त्यसैले यो पेशालाई म कहिल्यै भुल्न सक्दिनँ ।”
    कोहलपुर कला केन्द्रमा बिहान र साँझ नृत्य कक्षा सञ्चालन गर्दै बाँकी समय छायाङ्कन र सम्पादनमा खर्चिने कुन्दनको दिनचर्या निकै व्यस्त छ । कला केन्द्रका प्रबन्ध निर्देशक सञ्जित ओलीको नेतृत्वमा सञ्चालित उक्त केन्द्र स्थानीय प्रतिभा उत्पादनमा महत्वपूर्ण भूमिकामा छ । कुन्दनजस्ता कलाकारले यही केन्द्रबाट आफ्नो सीपलाई अझ निखार्दै लगेका छन् ।
    सानै उमेरदेखि कलाक्षेत्रप्रति गहिरो रुचि राख्दै आएका कुन्दनका लागि यो पेशा केवल जीविकोपार्जन मात्र होइन, आत्मसन्तुष्टिको माध्यम पनि हो । “सानैदेखि नाच्न, अभिनय गर्न र सिर्जना गर्न मन पथ्र्यो । आज यही क्षेत्रमै मेरो जिन्दगी चलिरहेको छ र म खुसी छु,” उनी आत्मविश्वासका साथ भन्छन् ।


    काठमाडौँका विभिन्न टिमसँग सहकार्य गर्दा थप सिकाइ र अनुभव बटुलेको अनुभव कुन्दन सुनाउँछन् । आधुनिक प्रविधि, नयाँ शैली र पेशागत अनुशासनले आफूलाई अझ परिष्कृत बनाइरहेको उनको भनाइ छ । कलाक्षेत्रमा सम्भावना खोज्दै संघर्ष गरिरहेका युवाका लागि कुन्दन चन्द आज प्रेरणाको स्रोत बनेका छन् । भिडियो सम्पादन र निर्देशनमा जम्दै गरेका कुन्दन चन्दको यात्रा अझै जारी छ । निरन्तर मिहिनेत, लगनशीलता र कलाप्रतिको समर्पणले उनलाई नेपाली कला क्षेत्रको उज्यालो भविष्यका रूपमा चिनाउन थालेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology