(Wednesday 28th of October 2026)
`

अन्तरधार्मिक अगुवासँग लैङ्गिक हिंसा न्यूनीकरणबारे अन्तरक्रिया सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 6.3K
    SHARES

    प्रेम सिंह एस.के –नेपालगन्ज : लैङ्गिक हिंसा विरुद्धको अभियान २५ नोभेम्बर देखि १६ दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइने गरिन्छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरणका लागि धार्मिक अगुवा तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरिएको हो ।
    अन्तरधार्मिक राष्ट्रिय सञ्जाल (निरन नेपाल) को आयोजना र इस्लामी संघ नेपाल प्रदेश लुम्विनीको सहआयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । इस्लामी संघ नेपालका केन्द्रिय अध्यक्ष नजरुल हसन फलाहीको प्रमुख अतिथि र अन्तर धार्मिक संजाल (निरन नेपाल) तथा इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष उबैदुररहमान खानको सभाध्यक्षतामा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ स्थित आइडियल पब्लिक माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम भएको थियो ।
    कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै अल्हेरा एजुकेशनल सोसाइटी उपाध्यक्ष इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश सचिव आइडियल पब्लिक मा.वि.अध्यक्ष बद्री आलम खानले लैंगिक हिंसा न्यूनीकरणका लागि सामुदायिक एकताको आवश्यकताका साथै महिलाको अधिकार सुनिश्चित भएको समाजमै सु–शासन सम्भव हुने उल्लेख गर्दै समाजलाई दीगो रूपान्तरणतर्फ लैजान सकिने कुरामा जोड दिएका छन् ।
    उबैद्द खानले लैंगिक हिंसा न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । महिला तथा बालबालिका माथि भएका हिंसाका तथ्यांकहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई समेत असर गर्ने भएकोले सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको उनले बताएका छन् ।
    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिष्टले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान केवल एउटा अभियानमा सिमित नरही निरन्तर रुपमा सम्बन्धीत सबै निकायहरूले आ–आफ्नो क्षेत्रबाट सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रहरीले लैङ्गिक समानता र महिला सुरक्षा प्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी विभिन्न संघसंस्थाहरू, शैक्षिक संस्थाहरु, स्थानीय तह र महिला संजालहरूसँग समेत समन्वय गरी हिंसा विरूद्धका सचेतनामुलक कार्यक्रम संचालनलाई निरन्तरता दिँदै आइरहेको उनले बताएका छन् ।
    फातिमा फाउण्डेशन नेपालअध्यक्ष मैमुना सिद्धिकीले सामाजिक परिवर्तन र लैंगिक हिंसा विरुद्ध सशक्त रूपमा आवाज उठाउने हिम्मतको आवश्यकता प्रविधिलाई सुरक्षित रूपमा उपयोग गर्न सके मात्र लैंगिक हिंसाका रोक्न सकिने बताइन् । बोल्दै पछिल्लो समय सकरात्मक र सृजनात्मक भन्दा पनि नकरात्मक विषय प्रति मान्छेहरुको ध्यान धेरै गएको हुँदा सकरात्मक सोचको विकास गर्नु पर्नेमा जोड दिएकी थिइन् ।
    बालबालिका, ज्येष्ठ नागरिक, महिला सेवा केन्द्र प्रमुख चन्द्रिका खनालले हिंसाका घटनामा महिला र पुरुष दुवैको संलग्नता रहने गरेको र यसको न्यूनीकरणको लागि आ–आफ्नो क्षेत्रबाट सबै लाग्नु पर्ने कुरामा जोड दिदै महिला र पुरुष विचमा मात्र नभई महिला महिला विच पनि हिंसा रहेको भन्दै एकले अर्कोलाई अपमान गरेर अघि बढ्न नसकिने धारणा समेत व्यक्त गरेकी थिइन् ।
    आइडियल पब्लिक मा.बिका अतिरिक्त क्रियाकलाप संयोजक आदिल अन्सारीले सहजीकरण गरेको कार्यक्रममा अल्हेरा एजुकेशनल सोसाइटी नेपालका अध्यक्ष खुर्शिद आलम इस्लाही, धर्मगुरु, बुद्धिजीवी, समाजसेवी, लगायत महिला अगुवा, संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका महिला प्रतिनिधि लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology