(Wednesday 28th of October 2026)
`

सगरमाथा स्कूलमा ‘मन बिनाको धन’ फिल्मका टिमलाई स्वागत

  • सगरमाथा गन्तब्य
  • 9.4K
    SHARES

    नेपालगन्ज, २६ कार्तिक –लोकप्रिय बालगायक अशोक दर्जी र कलाकार टंक बुढाथोकी मंगलबार नेपालगञ्ज १८ कारकादो स्थित सगरमाथा ई.बो. सेकेन्डरी स्कूल पुगेपछि विद्यार्थी र अभिभावकमाझ निकै उत्साह छाएको थियो । चलचित्र ‘मन बिनाको धन’ को प्रचार–प्रसारका क्रममा नेपालगञ्ज आएका उनीहरूलाई स्कूलका संस्थापक कृष्ण बहादुर जिसी र लक्ष्मी बिसीले खादा र माला अर्पण गरी स्वागत गरेका थिए ।
    विद्यालयमा आयोजित कार्यक्रममा अशोक दर्जी र टंक बुढाथोकीले विद्यार्थी, शिक्षक र अभिभावकहरूसँग आत्मीय संवाद गर्दै विद्यालय परिसर उत्सवमय बनाएका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेल, पत्रकार कृष्ण अधिकारीलगायतको पनि उपस्थिती रहेको थियो ।
    कार्यक्रमका क्रममा बालगायक अशोक दर्जीले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा विद्यार्थीहरू नाचे र ताली बजाउँदै साथ दिएका थिए । कलाकार टंक बुढाथोकीले सगरमाथा ई.बो. स्कूलको अनुशासन, शैक्षिक वातावरण र शिक्षक–विद्यार्थीबीचको सम्बन्धको प्रशंसा गर्दै “यो विद्यालय सगरमाथाजस्तै स्वच्छ र मन चोखो लाग्यो” भन्ने प्रतिक्रिया व्यक्त गर्नुभयो ।


    उनीहरूले विद्यार्थीहरूलाई कलाको माध्यमबाट सकारात्मक सोच राख्दै अध्ययनमा प्रेरित हुन सुझाव पनि दिएका थिए । कार्यक्रममा विद्यालयका फाउण्डर कृष्ण बहादुर जिसीले कलाकारहरूको उपस्थितिले विद्यार्थीहरूमा ऊर्जा र आत्मविश्वास थपेको बताउनुभयो ।
    कार्यक्रमको सञ्चालन विद्यालयका एमडी कौशल पाण्डेयले गर्नुभएको थियो । सो अवसरमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
    ‘मन बिनाको धन’ टिमको नेपालगञ्ज भ्रमणले विद्यालय, विद्यार्थी र फिल्मप्रेमीहरूमाझ नयाँ ऊर्जा थपेको छ । बालप्रतिभा अशोक दर्जी र कलाकार टंक बुढाथोकीको उपस्थितिले विद्यालयमा मनोरञ्जनसँगै प्रेरणाको वातावरण सृजना गरेको सहभागीहरूले बताएका छन् । नेपालगञ्जमा फिल्म प्रमोशनका क्रममा कलाकार अशोक दर्जी, टंक बुढाथोकी र सम्पूर्ण टिमले स्थानीय फिल्म हलमा पुगेर दर्शकसँगै बसेर चलचित्र ‘मन बिनाको धन’ अवलोकन गरेका थिए । दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै कलाकारहरूले फिल्मप्रतिको प्रतिक्रिया सुनेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology