नेपालगन्ज । रियालिटी शो एक्टिङ स्टार सिजन–१ का विजेता नविना रानाभाटलाई गृहजिल्ला बाँकेको नेपालगन्जमा भब्य स्वागत गरिएको छ । उपाधी जितेपछि पहिलो पटक गृहनगर नेपालगन्ज आएका नविनालाई शुक्रबार बिहान नेपालगन्जमा बधाई सहित स्वागत गरिएका हो । बाजागाजा सहित बिमानस्थल लिन पुगेका शुभचिन्तक र कलाकर्मीहरुले बिमानस्थलबाट नेपालगन्जसम्म पु¥याएका थिए । बाँके कला केन्द्रको अगुवाईमा नेपालगन्जका कलाकार, नागरिक अगुवा लगायतले रानाभाटको स्वागत गरेका थिए ।
नगरपरिक्रमा पछि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्ने बक्ताहरुले नबिनाले अभिनयको माध्यमबाट बाँकेको नाम रोशन गराएको बताएका थिए । उनीहरुले सयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै बाँकेकी चेलीले उपाधि जित्नु सबै बाँकेबासीले गर्व गर्ने बिषय भएको हो ।
कार्यक्रममा बोल्दै नपालगन्ज उपमहानगरपालिकाका निवर्तमान नगर उपप्रमुख उमा थापाले अभिनयको माध्यमबाट बाँके जिल्लाबासी सहित पश्चिम नेपाललाई खुसी दिएकोमा नबिनालाई बधाई दिनुभयो । उहाँले नबिनाको जितमा उनको मातापिताको विशेष योगदान रहेको उल्लेख गर्दै नबिनाको बाबा र आमाको प्रशंसा गर्नुभयो ।

नबिनाका पिता भीम रानाभाटले नबिनालाई उपाधि दिलाउन योगदान गर्ने बाँकेबासी सहित देशभरीका दर्शक र शुभचिन्तकहरु प्रति आभार प्रकट गर्नुभयो । सबैको हौसला र प्रयासले नेपालगन्ज र बाँकेले सफलता पाएको उहाँको भनाई छ ।
बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङले बाँकेको कलाले देशमै उत्कृटताको उपाधि जित्नु बाँकेका सम्पूर्ण कलाकारको लागि गर्वको विषय भएको बताउनुभयो । बाँके जिल्ला कला र संस्कृतिमा कोही भन्दा कम नभएको उदाहरण नबिनाले पुष्टी गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पत्रकार शरण कर्माचार्य, नागरिक अगुवा कृष्ण श्रेष्ठ, पर्यटन अभियन्ता श्रीराम सिग्देललगायतले उपाधि जितेपछि त्यसलाई जोगाउने र थप सफलता पाउन नबिनाले थप प्रयास गर्नु पर्नेमा जोड दिनुभएको थियो । नविनालाई स्वागत गर्न नेपालगन्जवासीले नेपालगन्जको एयरपोर्टमा सयौको संख्यामा पुगेका थिए ।

