(Wednesday 28th of October 2026)
`

वरिष्ठ लोकगायक कमल विके निर्मोहीको उपचारमा नृत्य निर्देशक सुवेदीको पहलमा सहयोग

  • सगरमाथा गन्तब्य
  • 13.3K
    SHARES

    नेपालगन्ज,  — नेपाली कला र संस्कृतिको जगमा आफ्नो जीवन समर्पण गरेका वरिष्ठ लोकगायक तथा वाद्यवादक कमल विके निर्मोही पछिल्ला दिनमा अस्वस्थ भएका छन् । उहाँको उपचारमा सहज होस् भनेर नृत्य निर्देशक नवराज सुवेदीले आफ्नो व्यक्तिगत पहलमा २४ हजार २ सय ९५ रुपैयाँ सहयोग संकलन गरी हस्तान्तरण गर्नुभएको छ ।
    नृत्य निर्देशक सुवेदीको एकल प्रयासमा जम्मा भएको उक्त रकम शुक्रवार औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । आर्थिक सहयोगमा हातेमालो गर्ने सहयोगीहरूमा ब्राईटल्याण्ड स्कुलका फाउन्डर चेयरम्यान विजय लामा, महाराजा मोबाइल सेन्टरका एमडी डम्बरबहादुर चन्द, कौसल्या हस्पिटल प्रालिका एमडी राम न्यौपाने, कालिका अटो पाट्र्सका एमडी मोनबहादुर अधिकारी, कान्तिपुर इलेक्ट्रोनिक्सका एमडी प्रकाश कँडेल लगायतले सकेजति आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।
    सुवेदीले भने, “वरिष्ठ कलाकार कमल विके निर्मोही हाम्रो सांगीतिक सम्पत्ति हुनुहुन्छ । उहाँको स्वास्थ्यका लागि गरिएको यो सानो प्रयासले थप सहयोग जुटाउने प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना हो ।”
    हाल वरिष्ठ कलाकार निर्मोही नेपालगन्जस्थित भेरी अस्पतालमा नियमित डायलासिस उपचार गराइरहनुभएको छ । उहाँको दाहिने खुट्टा चल्न नसक्ने समस्या देखिएपछि लामो समयदेखि अस्पतालमा उपचार भइरहेको परिवारजनले बताएका छन् । उपचार डा. पारस श्रेष्ठको निगरानीमा भैरहेको र स्वास्थ्य अवस्था स्थिर भए पनि निरन्तर डायलासिस उपचारले आर्थिक भार बढ्दै गएको जानकारी प्राप्त भएको छ ।
    कमल विके निर्मोही नेपाली कला क्षेत्रमा बहुमुखी प्रतिभाका धनी कलाकारका रूपमा परिचित हुनुहुन्छ । उहाँले गायन, उद्घोषण, पत्रकारिता र वाद्यवादन लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएको छ । रेडियो नेपाल र विभिन्न टेलिभिजन च्यानलहरूमा लामो समय कार्य गर्दै उहाँले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म आफ्नो आवाज र कला छोड्नुभएको छ ।
    उहाँले धेरै सांगीतिक कार्यक्रम, सांस्कृतिक महोत्सव र सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । नेपाली लोकसंगीतमा आफ्नो मधुर स्वर र वाद्यवादनको दक्षताबाट उहाँले असंख्य श्रोता–दर्शकको मन जित्नुभएको छ ।
    यस्ता कलाकार आज अस्वस्थ भएर आर्थिक अभावमा उपचार गराइरहनु कला र कलाकारप्रति समाजको संवेदनशीलताको परीक्षा हो । कलाकार निर्मोहीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन कलाकारहरुको भेटघाट जारी रहेको छ ।
    “कमल विके निर्मोहीजस्ता कलाकारले देशका हरेक कुनामा कला र संस्कृतिको उज्यालो फैलाउनुभएको छ । आज उहाँलाई सहयोग गर्नु हाम्रो दायित्व हो,” नृत्य निर्देशक सुवेदीले बताउनुभयो ।
    कलाकार निर्मोहीको उपचार निरन्तर र सफल होस् भन्ने कामना व्यक्त गर्दै धेरैले आर्थिक तथा नैतिक समर्थनका लागि हात बढाएका छन् ।
    निर्मोहीको अस्वस्थताले फेरि एक पटक नेपालमा कलाकारहरूको सामाजिक र आर्थिक सुरक्षाको प्रश्नलाई अगाडि ल्याएको छ । कलाको माध्यमबाट समाजलाई चेतना र सन्देश दिने व्यक्ति जब आफैं संकटमा पर्छन्, तब राज्य, संस्था र समाज सबैले हातेमालो गर्नुपर्ने आवश्यकता स्पष्ट देखिन्छ । नेपालगन्जको कला र सांस्कृतिक परिवेशमा गहिरो छाप छोड्नुभएका वरिष्ठ कलाकार कमल विके निर्मोहीको शीघ्र स्वास्थ्यलाभका लागि सामूहिक कामना व्यक्त गरिएको छ । साथै, उहाँको थप उपचारका लागि आर्थिक सहयोग समिति गठन गरी निरन्तर पहल गरिने भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology