(Saturday 25th of July 2026)
`

निजी विद्यालयको मागका लागि सडकदेखि सदनसम्म साथ दिने प्रतिनिधिसभा सदस्य डा. राणाको प्रतिवद्धता

  • सगरमाथा गन्तब्य
  • 6K
    SHARES

    नेपालगन्ज : प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) आन्दोलनमा छ । यसैक्रममा प्याब्सन बाँकेले बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणालाई ज्ञापनपत्र बुझाएको छ । प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य नेतृत्वको टोलीले राणालाई बुधबार साँझ ज्ञापनपत्र बुझाएको कोषाध्यक्ष प्रविण गिरीले बताउनुभयो । राणाले प्याब्सनले उठाएका विषय गम्भीर रहेको भन्दै यसमा आफू संवेदनशील रहेको बताउनुभयो । आन्दोलनको कार्यक्रम अन्तर्गत प्याब्सन बाँकले पछिल्लो पटक भदौ ६ गते शुक्रबार वीपी चोकमा सबै स्कुल बस उतारेर नगर परिक्रमा गराएको थियो ।
    सरकारले ल्याएको शिक्षा सम्बन्धि प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलन गरिरहेको छ । शिक्षा विधेयकमा राखिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश पनि हटाउनुपर्ने प्याब्सनको मुख्य माग रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित प्रस्तावले निजी विद्यालयको भविष्य र स्वायत्ततालाई जोखिममा पार्ने भन्दै प्याब्सनले चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो ।
    चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २९ गते स्थानीय सरकारका प्रमुख र पालिकाका शिक्षा प्रमुखहरुलाई ज्ञापनपत्र बुझाइसकिएको छ । यस्तै साउन ३० गते जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमार्फत ज्ञापनपत्र बुझाएको प्याब्सनले भदौ १ गते प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो । भदौ २ गते सांसदहरूलाई भेटी ज्ञापनपत्र बुझाइएको थियो । प्याब्सनले आन्दोलनका क्रममा आवश्यक परे सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ ।
    नेपालगञ्जमा कोणसभा
    प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै निजी तथा आवसीय विद्यालयहरुका विभिन्न संगठनहरु आन्दोलनमा छ । संघीय शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको उनीहरुको ठहर छ । त्यसकै विरोध स्वरुप बिहीवार नेपालगञ्जमा कोणसभा गरिएको छ ।
    जिल्ला प्रशासन कार्यालय बाँके अगाडि आयोजित कोणसभामा बोल्दै प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणाले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरी ल्याइने विधेयक नेपाली जनताको हितमा हुन नसक्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहित गरिनुको साटो सरकार गलत बाटोमा हिंडेको उहाँको भनाई छ । नेपालको शिक्षा क्षेत्रलाई निजीले नै धानिदिएको यथार्थ बुझ्नुपर्नेमा उहाँको जोड छ । उहाँले आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाउँदै निजी विद्यालयको चासो र मागलाई सम्बोधन गरेर मात्र विधेयक अघि बढाउनुपर्ने बताउनुभयो ।
    लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले विधेयकका सन्दर्भमा निजी विद्यालयहरुले उठाएको मुद्दा सम्बोधनका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । कोणसभा कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सहसचिव राजेन्द्र प्रसाद आचार्य, जिल्ला अध्यक्ष विकास बज्राचार्यले शिक्षा विधेयकमा राखिएका कतिपय प्रावधान प्रतिकूल भएकोले संशोधनमा दबाब सिर्जना गर्न देशब्यापी आन्दोलन भइरहेको बताउनुभयो । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन, एनएमएको संयुक्त आयोजनमा कोणसभा गरिएको प्याब्सन बाँकेका कोषाध्यक्ष प्रविण गिरीले बताउनुभयो । प्याब्सनले आन्दोलनका क्रममा आवश्यक परे सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology