जावेद अहमद, नेपालगन्ज ३० बैशाख – शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि बिद्यालयहरु खुल्ने टुंगो नलाग्दा बिद्यार्थी र अभिभावकहरु चिन्तित भएका छन । लकडाउनका कारण बिद्यालयहरु लामो समय बन्द हुदाँ बिद्यार्थी र अभिभावकहरु भबिष्यलाई लिएर चिन्तित भएका हुन । हतारहतारमा वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयहरु चैतको ५ गतेदेखि बन्द छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ गतेदेखि मुलुकलाई लकडाउन गरेको छ । लकडाउन जेष्ठ पाँच गतेसम्म कायमै छ । लामो समयसम्म विद्यालय नखुल्दा विद्यार्थी तथा अभिभावकहरु तनावमा परेका छन् । खासगरी एसइई परीक्षाको तयारी गरेका विद्यार्थीहरु झनै मर्कामा परेका छन् ।
चैत ६ गतेदेखि सुरु हुनु पर्ने एसइई कहिले हुने टुंगो छैन् । यस बिषयमा सम्बन्धित निकायले कुनै बैकल्पिक ब्यवस्था गर्नुपर्ने अभिभावक कुन्तलराज शर्माको भनाई छ । अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई व्यवहारिक सीप सिकाउन यो समय उपयुक्त अवसरका रुपमा सदुरुपयोग गर्न सुझाव दिनुहुन्छ । सरकारले अहिले अनलाइन प्रविधिबाट पठनपाठन गर्न पनि भनेको छ । बाँकेमा पनि केही निजी विद्यालयले त्यसको प्रयोग गरेका छन् । सामुदायिक विद्यालयहरुले पनि रेडियोमार्फत रेडियो कक्षा सुरु गरेका छन् । तर त्यसको प्रभावकारीता नभएको बताउँनुहुन्छ । सबै बालबालिकाहरु रेडियो र अनलाइनको पहुँचमा नभएका कारण त्यसको प्रभावकारीता नरहेको उहाँको भनाइ छ । दसैं वा जाडो बिदामा जस्तै अन्तिम परीक्षा सकिएको यो लामो बिदामा अभिभावकले उमेर अनुसार आफ्ना नानीबाबुलाई व्यवहारिक सीप सिकाउनतर्फ केन्द्रीत हुन शिक्षाविज्ञहरुको सुझाव छ ।
