नेपालगन्ज : नेपालगन्जमा ‘ सगरमाथा प्रथम नमुना युवा नगरसभा’ अन्तर्गत अभ्यास कार्यक्रम २०८१ भव्य रूपमा सम्पन्न भएको छ । सगरमाथा ई. बोर्डिङ स्कूल प्लस टु नेपालगन्ज १८ बाँकेको आयोजनामा सम्पन्न उक्त कार्यक्रम युवा नेतृत्व विकास, लोकतान्त्रिक प्रक्रिया तथा नगर सभाको संरचना र निर्णय प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा युवा खेलकुद महाशाखाका प्रमुख गोरख बहादुर थापा रहन्भएको थियो । उहाँले युवाहरूको नेतृत्व विकासका लागि यस्ता अभ्यास कार्यक्रम महत्वपूर्ण हुने बताउँदै “युवाहरूलाई व्यवहारिक ज्ञान दिन यस्ता कार्यक्रम प्रभावकारी रहने बताउनुभयो । नगरपालिकाले पनि यस्ता कार्यक्रमलाई सहयोग र प्रवद्र्धन गर्नुपर्छ उहाँले भन्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष तथा बिद्यालयका संस्थापक अध्यक्ष कृष्ण बहादुर जिसीका अनुसार यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिनु हो । पुस्तकमै सीमित नभई उनीहरूले समाजलाई बुझ्न र आफ्ना विचार राख्न सकून् भन्ने चाहना समेत रहेको उहाँले बताउनुभयो ।

अभ्यास कार्यक्रम अन्तर्गत युवाहरूलाई नगरसभा सञ्चालनको अनुभव दिलाउने गरी कार्यपत्र प्रस्तुति, छलफल, प्रस्ताव पारित गर्ने प्रक्रिया, नीति निर्माणको प्रारम्भिक अभ्यास लगायतका गतिविधि सञ्चालन गरिएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर हुनुपर्ने माग गरेका छन् ।
कार्यक्रमको प्रशिक्षण बाल अधिकारकर्मी साहिल अन्सारीले सञ्चालन गर्नुभएको थियो । उहाँले युवा सहभागिता, नेतृत्व विकास, नीति निर्माण प्रक्रिया, निर्णय ग्रहण प्रर्णाली तथा बाल अधिकारको महत्वका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको हो । “समाज परिवर्तनको मूल आधार युवा नै हुन् । उनीहरूलाई सही मार्गदर्शन गर्न सकिए मात्र समृद्ध भविष्य सम्भव छ बाल अधिकारकर्मी अन्सारीले भन्नुभयो ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक लगायतको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले नगरसभाको अभ्यास गर्दै लोकतान्त्रिक प्रक्रियाबारे प्रत्यक्ष सिक्ने अवसर पाएका थिए । नगरसभाको अभ्यास कार्यक्रमले विद्यार्थी तथा युवाहरूलाई लोकतान्त्रिक प्रणाली बुझ्न, सामूहिक निर्णय प्रक्रियामा संलग्न हुन र नेतृत्व विकास गर्न मद्दत गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।



