विष्णु पोखरेल – “हुन त मैले क पनि पढेकी छैन । अरुको अगाडि हात पसारेर खानु भनेको त ज्युदै मर्नु जस्तो लाग्दछ” । “जानीजानी त धेरै रोएं । बरु नसोचेका पीडा र चोट ब्होर्नु पर्दा भने थाहै नपाई आँशु झर्दा रहेछन् । कसैले नदेखुन भनेर हतार हतार पुछ्ने गर्दछु” ।
गहुँगोरो र फराकिलो निधार । हँसिलो अनुहार । अनि त्यसमा लगाइएको कालो फे्रमको चश्मा । सधै ग्राहकलाई उच्च सम्मान सहितको व्यवहार । प्रशन्न मुद्रामा काममा व्यस्त एउटी अधवैशे महिला । शायद यहि नै हुन सक्दछ उनको चिनारी । बिहानै नौ बजे घरबाट खानाखाई निस्कनु र दिनभरी काम गरी साँझ घर फर्कनु उनको दैनिकी रहेछ । काम गर्ने औजार राख्ने सानो बाकसले पनि सधै उनलाई पछ्याइरहँदो रहेछ अर्थात कहिल्यै नछोड्दो रहेछ ।
कुराकानीको क्रममा महिला र पुरुष गरी करिव सात जना ग्राहकले घेरिएकी थिइन् उनी । हाम्रा कुरा सुनेर उनीहरु एक आपसमा मुखा मुख गर्दै थिए । शायद कसैले मन मनै सहानुभूति र कसैले जिज्ञाशाको भावमा उनलाई नै एकटकले हेरिरहेका थिए । उनलाई भने यी सबै कुराको कुनै प्रवाह थिएन । हुन पनि उनले कुरा गर्दा काम रोकिएको थिएन बरु काम र कुरासंगै चलिरहेका थिए ।
उनी हुन् दीपा सार्की । रुखको हाँगामा झुण्डाइएका केही जुत्ताका तुनाहरु । त्यस्तै आफ्नो अगाडि सिउने सामाग्री सहित टोकरीमा राखिएका विभिन्न रङका धागाका गोलीहरु । उनको सम्पत्ति भन्नु नै यिनै रहेछन्् । वैशाख, जेठको चर्को गर्मी होस या पुष माघको कठ्याग्रिने जाडो । उनका दिनहरु यसरी नै वित्ने गरेको उनले सुनाइन् ।
कोहलपुर बजारमा नेपाल टेलिभिजन जाने एउटा सडक रहेको छ । सडकको शुरुमा एउटा ठुलो द्धार (गेट) रहेको छ । मूलद्धार भन्दा करीब तीस मिटर उत्तरतर्फ कोहलपुर नेपालगञ्ज सडकको छेवैमा रहेको छतिवन रुखको फेँदलाई नै दीपाले आफ्नो कार्यालय बनाएकी छन् । अर्थात यहिँ बसेर नै उनी आफ्नो काममा व्यस्त हुने गर्दछिन् । ओहोर दोहोर गर्ने बटुवाको जुत्ता चप्पल मर्मत गरी बाच्नको लागि खर्चको जोहो गर्दा गर्दै दिन गएको पत्तै हुँदैन ।
हुन त दीपा आफ्ना पुराना दिन सम्झन चाहँदिनन् । सल्यानको जेठाथानमा घर थियो । विवाह गरेका केही महिनासम्म त श्रीमानको व्यवहार पनि राम्रो नै थियो । नयाँ जोडि, रमाइला सपना बुन्दै जाँदा दुवै जना संसारकै भाग्यमानी जस्तो नलागेको होइन दुवै जनालाई । तर विस्तारै विस्तारै दुइ बीचको सम्वन्धमा धमिरा लाग्दै गयो । पहिले आफ्नो काममा रमाउने उनका श्रीमान विस्तारै रक्सीको कुलतमा फस्न पुगे । यो क्रम बढ्दै जाँदा घरमा झगडा त हुने नै भयो । कुलतको मात्रा बढ्दै गएपछि उनी माथि दैनिक कुटपीट समेत हुन लाग्यो । “सधैभरी कुटाई खाँदा ज्यान थिलो थिलो हुन्थ्यो । बरु आफन्तको नजिकमा गएर बस्दा केही कम हुन्छ कि भन्ने सोँचेर कोहलपुरमा बसाई आएँ” । मलिन अनुहारमा बसाई सर्नुको पीडा सुनाउछिन उनी ।
कोहलपुर आएपछि उनी माथिको कुटाई त केही कम भयो तर रोकिएको भने होइन । साथमा एउटी छोरी समेत जन्मिएकी थिइन् । त्यसैले पालनपोषण र शिक्षाको जिम्मेवारी समेत परिवारमा थपिएको थियो । यही कर्तव्यको महशुसले नै उनले जुत्ता मर्मतको काम सिकिन् । अनि थप वैकल्पिक आयश्रोतको माध्ययम पनि बनाइन् । आफूले जति दुःख पाए पनि छोरीले राम्रो जीवन पाओस भन्नेमा निकै सचेत बनिरहिन् ।
तीन जनाको परिवारमा जेन तेन चलेकै थियो । यत्तिकैमा जीवनमा ठुलो बज्रपात भयो । आफूले टेकेको धर्ती भासिए जस्तो भयो, आकाशभरी अन्धकार छायो अनि… पीडाले शरीर रन्थनियो । लोग्नेले सधैभरी कुटपीट त गरेकै थिए । यसपाली त एउटी महिला नै टिपेर हिडेछन् । महिलाहरु जस्तो कुरा पनि सहज रुपमा सहन अभ्यस्त हुन्छन् तर सौता भन्ने शब्दभने विर्सिएर पनि सम्झन तयार हुँदैनन् । तै पनि छोरीको पढाईलाई सधै निरन्तरता दिनु नै थियो । त्यसैले १२ कक्षा सम्म पढाएर विवाह समेत गरिदिइन् ।
अव त कहिले काहिँ काममा सहयोग गर्ने छोरीको पनि विवाह भयो । लोग्ने त पहिल्यै कान्छी लिएर सल्यान गएका थिए । अव भने घरमा दीपा मात्र भइन् । लोग्नेको सम्झना नआएको त होइन उनलाई तर के आशा गर्नु र । कहिले काहिँ त त्यहि जँड्याहा लोग्ने भएपनि संगै भैदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ । “घाऊ निको गर्न त औषधि भए पुग्छ, तर जड्या लोग्ने नै किन नहोस, हुनु र नहुनुमा ठूलो अन्तर हुँदोरहेछ । जतिसुकै विग्रिएको लोग्ने भएपनि कम से कम बाहिरका मानिसले त हेप्न सक्दैनन् नि” । महिला एक्लै हुँदा समाजले गर्ने व्यवहारको अनुभव सुनाउछिन् दीपा । दैनिक रुपमा यसरी मिहिनेत गरेर काम गर्दा करीव एघार सय जति कमाई हुने दीपाले बताइन् । जसोतसो दुइ छाक खान पुगेको कुरा गर्दा उनी निकै प्रफुल्ल मुद्रामा देखिन्थिन् । दुख विमारी नभएर यसरी नै काम गर्न सके हुन्थ्यो भन्ने ठुलो अपेक्षा समेत रहेछ । “बाँचुञ्जेल मागेर खान नपरे हुन्थ्यो भन्ने लाग्दछ, काम गरेर खान सकेकी छु, यसैमा खुशी छु” । उनले बोलेका प्रत्येक शब्दले उनको स्वाभिमानलाई झल्काइरहेको थियो ।
कुराकानीको अन्त्यमा आफ्नो मनको योजना समेत दीपाले बताइन् । यसैगरी केही पैसा बचाउन सके भविष्यमा एउटा सटरमा नयाँ जुत्ता समेत राखेर कामलाई निरन्तरता दिने उनको सोँच रहेछ । मनमनै संझिए, शहर बजारमा बसेर नयाँ नयाँ फेशन र महङगा गहनामा खर्च गर्न रुचाउने महिलाहरु, दीपा जस्तै उत्पादनमा जोडिन सके शहर झन कति सुन्दर हुँदो हो । मनमनै दीपाको योजना सार्थकताको कामना सहित हामीले पनि विदा माग्यौ । एक घण्टा वितेको थाहै भएन ।
