नेपालागन्ज : बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा आइतबारदेखि सुरु भएको अटवारी पर्व दिदीबहिनीलाई ‘अग्रासन’ दिएर सोमबार सम्पन्न भएको छ । दुवै जिल्लाका थारु बाहुल्य क्षेत्रमा विशेष उल्लास र उमङ्गका साथ दुई दिन अटवारी पर्व मनाइएको हो ।
यो पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्ने गरेको जनाउँदै भीमको पूजा गर्दै आइतबार पुरुष व्रत बसेको र दिदीबहिनीका लागि छुट्याइने खानाको परिकार ‘अग्रासन’ लाई विवाहित दिदीबहिनीको घरमा सोमबार पु¥याएर सम्पन्न गरिएको बाँके कोहलपुर मैटहवाका थारु अगुवा राजेन्द्र चौधरीले बताउनुभयो ।
अटवारी विशेषगरी दुई दिन मनाउने जनाउँदै थारु समुदायका अर्का अगुवा नेपालगन्ज निवासी भगतराम थारुले पहिलो दिन दिनभर व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने तथा दोस्रो दिन खानेकुरा पकाएर दिदीबहिनीको घरमा पु¥याइने बताउनुभयो ।
उहाँका अनुसार व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहित दिदीबहिनीलाई भेट्न उनीहरूकै घर अर्को दिन जान्छन् । अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारु अगुवा चौधरीले बताउनुभयो ।
बर्दिया राजापुरका थारु अगुवा सोम प्रसाद चौधरी दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दर्साउने विशेष अवसर नै अटवारी पर्व भएको बताउनुभयो ।
बर्दिया राजापुरकै अर्का थारु अगुवा भीमसेन चौधरीका अनुसार थारु समुदायमा रहँदै आएको प्रचलित किंवदन्ती अनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेका थिए । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अटवारी पर्व मनाउने प्रचलन थारु समुदायमा रही आएको छ । थारु समुदायमा अटवारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरेको बाँके राप्तीसोनारीका अगुवा हेमन्त चौधरीले बताउनुभयो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले थारु समुदायका जन्मदेखि मृत्युसम्मका संस्कार र सस्कृति समेटेर डकुमेन्ट्री निर्माण गर्दै गरेको कुरा प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र नेपालले बताउनुभयो । हरेक गतिविधीलाई भिडियो कैद गर्दै आएका छौं यसलाई जिवन्त राख्न यस्तो खालको डकुमेन्ट्री निर्माण गरिने उहाँले बताउनुभयो ।
