नेपालगन्ज : आदर्श एकल तिज नृत्य प्रतियोगिताको उपाधी नेपालगन्जका पुर्वी विकले हात पारेकी छिन् । पुर्वीले नगद १५ हजार सहित ट्रफि हात परेकी हुन् । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा बैजनाथ राष्ट्रिय दैनिकले एकल तिज नृत्य प्रतियोगिता आयोजना गरेको थियो । मौलिक कला संस्कृतिको संरक्षण गरौं भन्ने मुल नाराका साथ नाचौ आदर्श एकल तिज नृत्य प्रतियोगिता २०८१ को द्वितियमा यमुना रसाईली हुन सफल भईन भने तृतिय उपाधि कोहलपुरका शुशिला सिंह ठकुरीले जित्न सफल भइन् । द्वितिय र तृतियले नगद १० हजार र ५ हजार हात परे ।

बैजनाथ गाउँपालिका स्थित प्रभात नमुना माविको प्राङगणमा भएको आदर्श एकल तिज नृत्य प्रतियोगितामा ३८ जना प्रतियोगीले आफ्नो प्रस्तृति देखाएका थिए । महिला हिंसा विरुद्ध जनचेतना मुलक कार्यक्रम नाचौ रमेर, मौलिक कला संस्कृति संम्बद्धर्न र संरक्षण गरौ सबै मिलेर, आदर्श एकल तिज नृत्य प्रतियोगिता २०८१ कार्यक्रममा प्रमुख अतिथि माननिय सांसद आशा विक रहनुभएको थियो । कार्यक्रममा बोल्दै सांसद विकले समाजमा अझै पनि विकृति रहेको दावी गर्नुभयो । जातभात छुवाछुत अझै कायमै रहेको भन्दै उहाँले भन्नुभयो यो मैले पनि कति भोगेको छु यसलाई निर्मुल पार्न हामी सबैको दायित्व रहेको बताउनुभयो ।
राजनीतिमा होस या अन्य कुनै पनि ठाउँमा अझै जातभातको कुराले मुन्टो निहुराउने प्रबृति कायमै रहेको उहाँले बताउनुभयो । तिज कार्यक्रममो बोल्दै उहाँले भन्नुभयो तिजलाई भडकिलो नबनाउन सकेसम्म जे जस्तो सकिन्छ त्यतिमै रमाउन सक्ने बानी बसाल्नुपर्ने धारणा राख्नुभयो । अहिले दलित समुदायका एकमात्र प्रवर्चनकर्ता आचार्य श्रीकृष्ण दमाईलाई बैजनाथ दैनिकले तिज नृत्य प्रतियोगिताको अवसरमा उहाँलाई सम्मान गरेको छ ।

यस्तै विशिष्ट अतिथिमा आचार्य श्री कृष्ण दमाई, पुर्वमन्त्री दल बहादुर सुनार, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एकमाया विक, खजुरा गाउँपालिका वडा नं. ४ का निवर्तमान वडा अध्यक्ष तथा युवा नेता समाजसेवी तिलक विर सुनार, नेपाली काँग्रेसका जिल्ला सहसचिव विनोद थारु, वैजनाथ गाउँपालिकाका वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, शिक्षक, विद्यार्थी, युवायुवती, पत्रकार लगायतका हजारौको संख्यामा सहभागिता रहेको थियो ।
प्रतियोगिताको सहकार्य जिगाउँ युथ स्पोर्टस क्लवले गरेको छ भने समन्वय बैजनाथ गाउँपालिका रामपुर बाँकेले गरेको थियो । आदर्श तिज नृत्य प्रतियोगिता २०८१ को आयोजना बैजनाथ राष्ट्रिय दैनिक बाँकेले गरेको थियो ।

