(Saturday 25th of July 2026)
`

भेरी अस्पतालले घटायो सेवा शुल्क

  • सगरमाथा गन्तब्य
  • 5.4K
    SHARES

    नेपालगन्ज, । अति न्यून शुल्कमा पश्चिम नेपालका हजारौं बिरामीहरुको उपचार गर्दै आएको भेरी अस्पतालले यस क्षेत्रका सर्वसाधारणको सुविधाका लागि सेवा शुल्क घटाएको छ ।
    भेरी अस्पतालमा सेवाग्राहीले प्राप्त गर्दै आएको विभिन्न स्वास्थ्य सेवामा लाग्ने सेवा शुल्क समायोजन गरेर सबैको सहुलियतका लागि घटाइएको अस्पताल विकास समितिले जनाएको छ । समितिका अनुसार भेरी अस्पतालको सेवा सुविधामा सुधार गर्ने अभियान सुरु गरेर सोही अन्तर्गत विभिन्न निर्णय गर्दै कार्यान्वयन गर्न थालिएको हो ।
    भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालका अनुसार यस क्षेत्रका विपन्न, गरिब र मध्यमवर्ग लगायत सबैलाई सहज हुने गरी अस्पतालले आफ्ना विभिन्न सेवा शुल्क घटाएको बताउनुभयो । उहाँका अनुसार अस्पतालबाट प्रवाह भइरहेको ओपिजी शुल्क एक हजार ५०० बाट घटाएर ८०० रुपियाँ, डेक्सा स्क्यान शुल्क दुई हजार ५०० बाट घटाएर एक हजार ५०० कायम गरिएको छ । सोही प्रकारले एमआरआई सेवाको शुल्क पनि घटाइएको छ ।
    यसैगरी, अस्पतालले इमरजेन्सी विभागबाट दिइरहेको एक्सरे सेवालाई थप जनशक्तीको व्यवस्थापन गरी चौबिसै घण्टा सेवा प्रदान गर्ने निर्णय गरिएको छ भने अस्पतालमा हिस्टोप्याथोलोजी सेवा विस्तारको लागि आवश्यक तयारी गरी यथाशीघ्र सञ्चलनमा ल्याउने निर्णय पनि गरिएको सदस्य डा. धितालले बताउनुभयो ।
    अस्पताल विकास समितिका अनुसार प्राविधिक खराबीका कारण बन्द रहेको सिटी स्क्यान मेसिन यथाशीघ्र मर्मत गरी सेवा सञ्चालन गरिने तथा सिटी स्क्यान मेसिन धेरै पुरानो भई हरेक वर्ष मर्मत गर्नुपर्ने हुँदा सोको खर्च धान्न अस्पतालले नसक्ने अवस्था रहेकोले १२८ स्लाईस क्षमताको नयाँ सिटी स्क्यान खरिद गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरिएको छ ।
    अस्पतालले यसअघि नै अनलाइन टिकटको व्यवस्था गरिसकेको छ भने ओ.पि.डी. टिकट काउण्टरमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपाङ्गता र गर्भवती महिलाहरु लाइनमा नबसी यथाशीघ्र सेवा प्राप्त गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिसकिएको थियो ।
    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट भेरी अस्पतालमा दैनिक ५०० देखि एक हजारभन्दा बढीको संख्यामा सर्वसाधारण उपचारका लागि आउने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology