आशा परियार नेपालगन्ज : देशभर आर्थिक मण्डिको कारण देखाउदै नेपालका विभिन्न जिल्लामा चल्दै आएका उद्योग कलकारखाना बन्द हुने क्रम बढ्दो अवस्थामा रहेको छ । देशकै ठुल्ठुला उद्योगहरु बन्द हुँदै गएका छन् । लामो समय नाम चलेका कम्पनी समेत बन्द भएको स्थिति छ । अन्य उद्योग बन्द हुँदै गर्दा बाँकेमा भने एक कागज उद्योग संचालनमा आएको छ । आफै श्रमिक आफै मालिक, उत्पादन हाम्रै नेपालको भन्ने मुल नाराका साथ झण्डै १२ करोड लगानीमा राप्तीसोनारी गाउँपालिका वडा नं २ मटैयामा एक्सिलेन्ट पेपर मिल कम्पनी लिमिटेड (कागज उद्योग) संचालनमा आएको हो ।
देशभित्रै प्रशस्त मात्रामा रोजगारी सिर्जना गर्न सामुदायिक स्तर र कर्मचारीलाई पनि शेयर सदस्य बनाई नमुना उद्योग स्थापना गर्न मिति २०७६ जेठ १७ गते आधिकारिक रुपमा दर्ता भई परियोजनालाई सञ्चालनका लागि एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा.लि. परियोजनाको स्थापना गरिएको संचालक समितीका अध्यक्ष दुर्गा ज्यौतिलाल भण्डारीले बताउनुभयो । कम्पनी रजिष्ट्रार कार्यालयमा रु. २५ लाखको एकल शेयर पूँजीलाई अध्यावधिक गर्दै रु. २ करोड पुँजी कायम हुँदै २०७८ साल ९ महिना २२ गते एकलबाट बहुल शेयर प्रणालीमा रु. २६ करोड पुँजी जारी गरेको उद्योग हो उहाँले भन्नुभयो । आई ई ई, जमिन टेष्ट, डि पि आर, नक्सा पास तथा अन्य कानुनी प्रक्रिया पुरा गर्दै २०७९ साल ५ महिना ३० मा ३ करोड ९१ लाखको चुक्ता शेयर निस्कासन गरी निर्माण कार्य सञ्चालन गरेको कागज उद्योग स्थानियवासीलाई रोजगारी सृजना गरेको छ । दैनिक २ टन कागज उत्पादन गर्न सक्ने क्षमता भएको श्रोत साधन तयार गरिएको अध्यक्ष दुर्गा ज्यौतिलाल भण्डारीले बताउनुभयो ।

दैनिक २ टन रिसाईकल हेण्डमैड पेपर उत्पादन, तथा बजारीकरण भईरहेको छ । हाल एक करोड पचास लाख जति शेयर विक्री भै निस्काशनको प्रक्रियामा गईसकेको छ । स्वदेशमै प्रशस्त मात्रामा पाईने वा उत्पादन गर्न सकिने बावियो, पराल, गहुँको नल, अम्रिसो, बाँस, ऊँखु, कपास लगायत फाईवरयुक्त पदार्थ प्रशोधित गरि दैनिक ३०० मेट्रिक टन पल्प बनाई विभिन्न साईजका पेपर उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका निर्देशक राजेन्द्र चौधरीले बताउनुभयो । पहिलो चरणको पेपर रिसाईकल स्थापना पश्चात चरणवद्धरुपमा वाटर ट्रीटमेन्ट प्लान्ट, वायोप्लान्ट, वाटर रिकभरी प्लान्ट, मेसिन प्लान्ट, डाईजेस्ट प्लान्ट, स्टक राख्ने गोदाम घर लगायत अन्य संरचना निर्माण गरि कार्य अगाडी बढेको निर्देशक चौधरीले बताउनुभयो ।
प्रयोग गरेको पानि व्यवस्थापनको लागी वाटर ट्रिटमेन्ट प्लान्ट स्थापना गरी पुनः प्रयोग, पल्प उत्पादन गर्दा उत्पन्न हुने ब्ल्याकलिक्वायरलाई संकलन गरी उर्जा तथा जैविक मल उत्पादन, सोलार प्लान्ट जडान, जैविक मललाई उद्योगसँग कच्चा पदार्थ उत्पादनमा जोडिएका किसान समुहलाई अनुदान र अन्य व्यक्ति वा समुहलाई सहुलियत दरमा विक्री वितरण गर्ने प्रक्रिया थालनी गरेको उहाँले बताउनुभयो । प्रत्यक्ष अप्रत्यक्ष लाखौं जनतालाई स्व–रोजगारीमा जोड्दै स्वदेशभित्रै रोजगारी सिर्जना गर्ने मुख्य लक्ष्य रहेको कम्पनीको योजना रहेको छ । आफै श्रमिक आफै मालिक भन्ने मूल नारालाई आत्मसाथ गर्दै स्थानीय जनतालाई उद्योगको न्यूनतम् शेयरमा जोड्ने, उद्योग सम्वन्धि तालिम दिने र दक्ष प्राविधिक निर्माण गरि स्व–रोजगार बनाउँदै लैजाने कम्पनीको ध्येय अनुसार कार्य अगाडी बढेको लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कृष्णा के सी नमुनाले बताउनुभयो । स्थानियलाई स्वरोजगार बनाउन यस उद्योगले अहम भुमिका खेल्ने मन्त्री केसीले बताउनुभयो ।

अहिले ५३ जना स्थानियवासीलाई स्वरोजगार बनाएको छ पछिल्लो समय ३ हजार बढिलाई स्वरोजगार बनाउन सक्ने लक्ष्यका साथ अगाडी बढेको कम्पनीको लक्ष्य रहेको मन्त्री केसीले बताउनुभयो । उद्योगले स्थानियवासीलाई स्वरोजगार बनाउन ३ महिना प्रशिक्षण दिई दक्ष बनाएको छ । २३ जनालाई स्वरोजगार बनाई ९ जना महिलालाई मेसिन चलाउन सक्ने दक्ष बनाएको कम्पनीले जनाएको छ । ३३ करोडको प्रोजेक्ट रहेको कम्पनीमा ३ हजार बढि स्थानियवासीलाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ ।
