नेपालगन्ज : बर्दिया बाँसगढी नगरपालिका–२, अमैयाका टोपबहादुर ओली विरामी अवस्थामा मलेसियामा अलपत्र पर्नुभएको छ । सुरुमा गएको कम्पनी छोडेर अर्को कम्पनीमा गैरकानूनी रुपमा सेक्युरिटी गार्डको काम गर्दै आउनुभएका ओली विरामी भएर अस्पतालमा अलपत्र अवस्थामा पर्नुभएको हो । शनिवार उहाँको परिवारले नेपालगन्जमा पत्रकार सम्मेलन गरि नौ दिनदेखि अस्पतालमा छट्पटाइरहनु भएका ओलीको उद्दार गर्न अपिल गरेका छन् ।
श्रीमती नन्दा ओलीका अनुसार, टोपबहादुर ९ दिनदेखि सिलायन अस्पतालमा हुनुहुन्छ । प्रेसरले हानेपछि अन्य कर्मचारीले उहाँलाई अस्पताल पु¥याइदिएका हुन् । राम्ररी उपचार हुन सकेको छैन । कम्पनीले गैरकानूनी रुपमा काम गरेकाले उपचार गर्न नसक्ने बताइरहेको छ ।
टोपबहादुर ११ वर्षअघि मलेसिया जानु भएको थियो । दुई वर्ष गएको कम्पनीमा काम गर्नुभएको टोपबहादुर त्यसपछि गैरकानूनी रुपमा अन्यत्र कम्पनीमा काम गरिरहनु भएको थियो । यो बीचमा धेरै वर्ष टोपबहादुर परिवारको सम्पर्कमा हुनुहुन्थेन । श्रीमती नन्दाले आर्थिक अवस्था कमजोर रहेकाले श्रीमानलाई नेपाल झिकाउन नसकेको बताउदै सहयोगको अपिल गर्नुभएको छ ।
कम्पनीले आफन्ती आएमा नेपाल फर्किने टिकट काटिदिने बताएको छ । श्रीमान् लिन जान उहांँलाई आर्थिक अभाव भएको छ । नेपाल सरकारलाई दूताबासमार्फत श्रीमानलाई झिकाइदिन अनुरोध गर्नुभएको छ ।
