(Wednesday 28th of October 2026)
`

जिवन ज्योति स्कुलको अभिभावक दिवस सम्पन्न : नैतिक अनि सस्कार सहितको व्यवहारिक शिक्षामा सबैको जोड

  • सगरमाथा गन्तब्य
  • 8.8K
    SHARES

    बाँके । बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगरमा अवस्थित जिवनज्योति स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार विद्यालयको प्राङ्गणमा भव्य कार्यक्रमका बिच विद्यालयले अभिभावक दिवस मनाएको हो । एउटा विद्यालयलाई सफल बनाउनका लागि अभिभावकहरू र बिद्यालयका शिक्षक कर्मचारीहरुको अहम् भूमिका हुने हुँदा त्यसलाई व्यक्त गर्नका लागि अभिभावकहरू प्रति समर्पित गर्दै दिवस मनाइएको विद्यालयका प्रीन्सिपल फादर जोमन जेम्सले बताउनु भएको छ।
    अभिभावकको निरन्तर साथ र सहयोगकै कारण विद्यालय आफ्नो उद्देश्यमा सफल हुन् सकेको भन्दै फादर जेम्सले निरन्तर यो साथ र सहयोग अभिभावक अनि आफ्ना कर्मचारीबाट रहिरहने अपेक्षा गरेको धारणा व्यक्त गर्नुभएको छ।
    यस्तै कार्यक्रममा बोल्दै गुणस्तर र व्यवहारिक शिक्षा नै जिवनज्योति स्कुलको परिचय भएको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत रबिलाल मिजारले आजको प्रतिस्पर्धात्मक बजारमा नैतिक शिक्षासङ्गै गुणस्तरीय शिक्षा उत्पादनमा जिवनज्योति स्कुलले एक दशकमा निकै मेहनत गरेको र मेहनत अनुसार नतिजा दिदै गर्दै आएको बताउनु भएको छ।
    यस्तै मिजारले कागजी प्रमाणपत्र सबै स्कुलले दिने भए पनि जिवनज्योति स्कुलले बालबालिकालाई नैतिक शिक्षा र सस्कार सहितको सिप प्रदान गरेको बताउनु भयो ।
    यस्तै कार्यक्रम आफ्ना बालबालिकाको प्रतिभा हेर्न आउनु भएका अभिभावकहरूले आफ्ना छोराछोरीलाई अनुशासनसहितको गुणस्तरीय शिक्षा सङ्गै उनिहरु भित्र भएको प्रतिभालाई कोहलपुर देखि बाहिर अन्य जिल्ला र प्रदेशसम्म पुराएर उनिहरुलाई थप हौसला प्रदान गरेकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।
    हजारौ अभिभावकहरू बिच विद्यालयले गरेको कार्यक्रमको सुरुवातले त्यसको प्रमाण दिएको हो। संस्कार सहितको शिक्षालाई आफ्नो मूल मन्त्र बनाउँदै आएको विद्यालयले राष्ट्रिय गितसङ्गै कार्यक्रम सुरु गरेको थियो। त्यसलगत्तै सुरु भएको स्वागत नृत्यले अझै विशेष आकर्षण कार्यक्रममा छोड्न सफल रह्यो। आध्यात्मिकता र रास्ट्रभावले भरिएको उक्त नृत्यमा बालबालिकाहरू विभिन्न जातजाति, भाषा संस्कृतिको प्रतिनिधित्व गर्ने भेषभुसामा प्रस्तुत भएका थिए भने समसामयिक नेपाली समाजमा विद्यमान सामाजिक समस्याहरूलाई उनीहरूले मञ्चमा प्रस्तुत गरेका थिए। देशको सिमाना मिचिएको, रोजगारीको अभाव, वैदेशिक रोजगारीले निम्त्याएका समस्या लगायत समेटेर उपयुक्त सन्देश सहित उनीहरूले दिएको प्रस्तुतिले जो कोहीको आङ सिरिङ्ग हुन्थ्यो।
    यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बिशिस्ट अतिथि लिङ्स टु नेपालका संयोजक ग्यारी गोडरेड्ले विद्यालयले ‘फर अ कम्प्लिट ह्युमन बिङ’ अर्थात् पूर्ण मानव बनाउनका लागि भने अनुसारकै प्रगतिशील शिक्षा दिँदै आएको उल्लेख गर्नु भएको छ।रुसो, जोन डिवे जस्ता दार्शनिकहरूको नाम लिँदै उहाँले अबको समय प्रयोगात्मक रूपमा गरेर सिक्ने समय भएको र जिवनज्योति स्कुलले शिक्षण सिकाइको त्यही पद्धति अवलम्बन गरेको उल्लेख गर्नुभयो।
    यस्तै नेपाल क्याथलिक परिषद्का सदस्य सिलास बोगटीले क्याथलिकमा आवद्ध भएका स्कुलहरु मध्य नेपाल भरमै जिवनज्योति स्कुल सर्वोत्कृष्ट रहेको बताउनु भयो ।
    उहाँले अतिरिक्त क्रियाकलापले बालबालिकालाई उनीहरूको क्षमता विकास गर्ने मौका दिएको बताउदै विद्यार्थीमा भएका प्रतिभाहरुलाई बाहिर निकाल्नु पर्ने र उनिहरुलाई हौसला प्रदान घर देखि स्कुल अनि स्कुल बाहिर पनि हुनुपर्ने धारणा राख्नु भएको छ।
    यस्तै आफुहरुले विद्यार्थीलाई कक्षाकोठाको पर्खाल भन्दा बाहिर लगेर विविध गतिविधिमा सामेल गराउँदै सर्वपक्षीय विकास गर्नका लागि सक्रिय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाले बताउनु भयो। उहाँले बालबालिकाहरू विद्यालयको पनि जिम्मेवारी भएकाले उनीहरूको भविष्य निर्माणका लागि सबै मिलेर विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा निरन्तर लागिपरेको बताउनु भयो।
    उहाँले नैतिक,आध्यात्मिक र संस्कारयुक्त शिक्षा सहित विद्यार्थीहरूलाई आध्यात्मिक रूपमा सचेत, स्मार्ट र सीपयुक्त बनाउन निरन्तर लागिरहेको उहाँको भनाई थियो। यस्तै जिवनज्योति स्कुलका लेखा अधिकृत एवम् प्रशासन शाखाका कल्याण तिमिल्सिनाले मानिसले भौतिक रूपमा जति प्रगति गरेपनी अध्यात्म बिर्सिसकेको हुँदा कस्तुरीले आफ्नै सुगन्ध नचिनेर खोजेजस्तो आधुनिक मानिसको हालत भएको भन्दै उहाँले बालबालिकालाई हरेक दिन अनिवार्य ध्यान/योग सँग जोड्ने गरेको बताउनु भयो ।
    कार्यक्रम अवधिभर विद्यार्थीहरूले विभिन्न रोचक प्रस्तुतिहरू दिएका थिए।नर्सरी देखी कक्षा १० सम्म सञ्चालनमा रहेको जीवन ज्योतिले कक्षा अनुसार फरक फरक मितिमा अभिभावक दिवस मनाउँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology