नेपालगन्ज : लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्ण केसी (नमुना) थारु पहिरनमा सजिएर नाच्नु भएको छ । मुक्त कमलरी विकास मञ्च बाँकेको तेह्रो बार्षिक साधारणसभा सामाजिक लेखाजोखा तथा माघको शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री नमुनाले थारु पहिरनमा सजिएर मघौता, हुरदुङगवा तथा सखिया नाचमा नाच्नु भएको हो । शुक्रवार आयोजित माघ मिलन कार्यक्रममा मन्त्री नमुना प्रमुख अतिथि हुनुहुन्थ्यो । मन्त्री नमुनाले स्थानिय चिलरिया बजारदेखि नाचगान सहितको ¥यालीमा सहभागी हुदै मुक्त कमलरी विकास मञ्चको कार्यालय परिसरसम्म पुग्नुभएको थियो । पश्चिम नेपालको तराई जिल्लाहरुको थारु बस्तीमा माघ पर्वले छोएको छ । थारु समुदायको महान पर्व माघले थारु बस्तीमा रमझम बढ्नुका साथै रौनकता थपिएको छ । साँझा विहान गाउँघरमा स्थानिय युवा, बृद्धबृद्धा तथा बालवालिकाको जमघट हुनु र माघको जोहो गर्नाले माघी पर्वको रौनकता झल्केको स्थानिय थारु अगुवाहरु बताउछन् । माघ मिलन कार्यक्रममा मन्त्री नमुनाले थारु समुदायको पर्वलाई अझ धुमधामका साथ मनाउन युवा पुस्ता जागरुक हुन आवश्यक रहेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले थारु समुदायको संस्कृति जगेर्न गर्न पहल थालनी गरेको बताउनुभयो । संस्कृति लोप हुदै गैरहेको भन्दै मन्त्री नमुनाले अव संस्कृति जोगाउन युवा पुस्तालाई हस्तान्त्रण गरि जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।

थारु समुदायको माघ पर्वको हर्षउल्लासले अन्य समुदायलाई पनि रमाईलो प्रदान गरिने गरेको आभास उहाँले सुनाउनुभयो । राप्ती सोनारी गाउँपालिकामा विशेष गरि थारु समुदायको बसोबास बढि भएको हुनाले पनि माघको रौनकता बढि हुने गरेको राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले बताउनुभयो । थारु बस्तीमा अहिलेदेखि नै हरेक दिन नाचगान र सरसल्लाह दैनिकि हुने गरेको उपाध्यक्ष थारुले बताउनुभयो । थारु समुदायमा पुषको अन्तिम दिनदेखि सुरु हुने माघ पर्व ३ गतेसम्म धुमधामका साथ चल्ने गरेको उहाँले बताउनुभयो ।
माघ पर्वलाई थारु समुदायले नयाँ बर्षको रुपमा समेत मानिने गर्दछन् । किनभने थारु समुदायले खेतवारी, नयाँ योजना, पुरानो कार्यको लेखाजोखा, घरको हिसाव किताव लगायतका नयाँ कार्यको थालनी यसै बर्षदेखि गरिने चलन रहेको हुनाले माघ पर्वलाई थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने गरेको मुक्त कमलरी विकास मञ्च बाँकेका अध्यक्ष सुनिता थारुले बताउनुभयो ।

पुषको अन्तिम दिन जिता (सुङगुर) मारेर गाउँभरीका मानिसले सकेजति मासु किनेर घरमा पकाउने गर्दछन् । माघको राती कुखुरा बासेको बेला नै नजिकैको कुलो, नदिमा नुहाएर आफुभन्दा ठुला अग्रजलाई सेवा लिने चलन रहेको हुनाले सोही अनुसार गर्ने परम्परा कायमै रहेको अध्यक्ष थारुले बताउनुभयो ।
माघ १ गते थारु समुदायमा चोक चौराहामा आगो बाल्ने र गाउँभरीका स्थानियले जम्मा भई के गर्ने कसो गर्ने भन्ने सल्लाह समेत गर्ने र साँझा नाचगान गर्दै रमाउने गर्दछन् उहाँले भन्नुभयो । साँझा विहान आगोमा पोलेर मिठो मसिनो खाने कुरा खाने र आफन्तलाई समेत खुवाउने चलन रहेको स्थानिय थारु अगुवाले बताउनुभयो । माघ आउनुपुर्व एक महिनादेखि थारु गाउँ बस्तीमा माघी पर्वको लागि जोहो गर्न सुरु हुन्छ । बाहिर कमाउन गएका युवायुवती गाउँघरमा रमाउनलाई फर्किन्छन् । शुक्रवार शुभकामना आदनप्रदान कार्यक्रममा मुक्त कमलरी विकास मञ्चका केन्द्रिय उपाध्यक्ष निरमला चौधरी, पुर्व बाँकेका अध्यक्ष पार्वती थारु, वडा सदस्य, स्थानियवासी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


