कहिँ भेट र लन्डन चीन सरी
लखनौं पटना मदरास सरी
अलकापुरी कान्तिपुरी नगरी ।’
सम्भवतः सदियौंपछि काठमाडौं यसरी तंग्रिएको हो । लाग्छ, यतिबेला काठमाडौं आनन्दले खुट्टा पसारेर बसेको छ । चैनले सास फेरिरहेको छ । अहिले काठमाडौंको सेरोफेरो हेरेर कसले भन्ने हिम्मत गर्छ, ‘यो धुलोमान्डु हो । यो मास्कमान्डु हो ।’ यतिबेला कसैले भन्न सक्ने छैनन्, काठमाडौं कोलाहालको सहर हो । काठमाडौं प्रदूषणको सहर हो । काठमाडौंलाई हाम्रो भौतिक गतिविधिले पो कुरुप बनाउँदै लगेको रहेछ । विश्वकै प्रदूषित सहरमा सूचीकृत सहर, काठमाडौं । स्वास्थ्य विज्ञहरूले चेतावनी दिइरहेका थिए, ‘काठमाडौंको वायुमा यस्ता अति सुक्ष्म र हानिकारक कण छन्, जो क्यान्सरको कारण बन्न सक्छ ।’ काठमाडौंको पट्यारलाग्दो सडक जाम, त्यसमाथि गाडीहरूको हर्नको चर्को ध्वनि, नाक पोल्ने तिख्खर धुँवा, धुलो र राप । हिलो र फोहोरको लेदो मिसिएको खोला-नाला, दुर्गन्धित ढल ।

यस्तो लाग्थ्यो, प्राचीन विरासत बोकेको सुन्दर उपत्यकामा होइन, हामी ग्यास च्याम्बरभित्र उकुसमुकुस भइरहेका छौँ । तर, काठमाडौंलाई यसरी बदनाम कसले बनायो ? जवाफ अहिले खोज्न सकिन्छ, ‘हाम्रा अनियन्त्रित भौतिक गतिविधिले ।’ अब काठमाडौं कस्तो बनाउने भनेर बहस छेड्नुभन्दा पनि उचित हुनसक्छ, काठमाडौं कस्तो नबनाउने । काठमाडौं जस्तो छ, त्यस्तै पो रहन दिने कि ? काठमाडौंलाई अब अरू कंक्रिटको बोझ नबोकाउने कि ? आफ्नै गतिमा बगिरहेका खोला-नालामा शौचालयको ढल नमिसाउने कि ?

चराचुरुङ्गीदेखि किराफट्याङ्ग्रासम्मलाई आश्रय दिइरहेका रुख–बिरुवाहरू नमास्ने कि ? खुट्टा पसारेर सुस्ताउन मिल्ने चौर एवं खुला स्थानहरू अतिक्रमण नगर्ने कि ? हामी चुपचाप बसिदिँदा काठमाडौंको सौन्दर्य यसरी खुलेको छ, मानौं यो कुनै रुपवती नव-यौवना हुन् । कलकलाउँदो । भरभराउँदो । आफ्नै अवयवले सुशोभित ! अनलाइनखबरबाट
