नेपालगन्ज, ०६ बैशाख – लामो समय परिवारसंग सम्पर्क विहिन भएका नेपालगन्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवाली र बर्मामा बस्ने ८० वर्षीय डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले भेटघाट गराएको छ । दाजु बहिनीको भेट होला भन्ने कल्पना समेत नगरेका हिमा र डीपीलाई सामाजिक सञ्जाल फेसबुकले जुराएको हो । सामाजिक सञ्जालकै कारण ५१ बर्षपछि दिदीसंग भेट भएको थियो अहिले संजोगले भनौं दाईसंग पनि ५८ बर्षपछि भेट हुन पूग्यो एकदमै खुसी लागेको छ हिमाले भन्नुभयो । हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा ५८ वर्षपछि बहिनी हिमालाई भेटाउन सफल भएका छन । बर्मामा बस्दै आएका घिमिरे र नेपालगन्ज बस्ने ज्ञवालीबिच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन तर सामाजिक संजाल फेलबुकबाट आफ्नो बहिनीको ठेगाना पत्ता लगाएका घिमिरे नेपालगन्ज आएर बहिनीसँग भेट गरेर रमाईरहेका छन् । ४ बर्षपहिलेदेखि फेसबुकमा कुरा भैरहेको थियो । भेट हुन कोरोनाले पनि रोक्यो हिमाले भन्नुभयो । दाजुसंग फेसबुकमा कुरा भैरहेको थियो प्रत्यक्ष मात्र भेट भएको थिएन् । ४ बर्षपहिले दाजुले मलाई भेट्न प्लेनको टिकट काटेर बस्नुभएको थियो । लकडाउनले गर्दा हाम्रो भेटघाट हुने शुभदिन लम्बियो । उतिबेला काटेको टिकट समेत फिर्ता नलिई बहिनीलाई अवश्य भेटछु भनेर ४ बर्षदेखि प्लेन टिकट काटेर बस्नुभएको दाईलाई भेटन पाउँदा हर्षितले गदगद भएको हिमाले बताउनुहुन्छ ।

बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हिमाको ठेगाना पत्ता लगाएको दाई डीपी घिमिरेले बताउनुहुन्छ । बहिनी र आफन्त भेट्न १८ दिनको भिसा लिएर डीपी नेपाल आउनुभयो । “यतिका वर्षपछि दाजुलाई देख्न र भेट्न पाउँदा स्वर्ग नै पाएजस्तो भएको छ । बर्मामा रहेका कुनै पनि परिवारका सदस्यसँग भेट हुने आशा मरिसकेका बेला दाजुलाई भेट्न पाउँदा खुसीले गदगद भएकी छु ।” उहाँका दाजु डीपीको अनुभव पनि बहिनीको जस्तै छ । उहाँले बहिनी, आफन्त र परिवारसँग भेट हुने सबै आशा समाप्त भइसकेका बेला फेसबुकबाट आफन्तको खोजी गरेर नेपाल आएर भेट्न पाउँदा अति नै खुसी लागेको बताउनुभयो । १२ सन्तान मध्य माईली बहिनी मात्र नेपालमा रहेको र लामो समय सम्पर्क विहीन भएपछि आसै मरेको थियो दाजु डीपीले भन्नुभयो । ६ भाईमध्ये ५ भाई बितिसके अरु भाईले मुख समेत देख्न पाएनन् उहाँले आसुपुच्दै भन्नुभयो ।

वि.सं. २००५ मा बर्मामा जन्मिएकी हिमाको १६ वर्षको उमेरमा बर्मामै गुल्मी जिल्ला निवासी फणीन्द्रनाथ ज्ञवालीसंँग विवाह भएको थियो । त्यसको एक वर्षपछि उनीहरू नेपाल आएका थिए । नेपाल आएपछि चार पाँच वर्ष चिठीपत्र आदानप्रदान भए पनि पछि पूर्ण रूपमा सम्पर्क विच्छेद भएको थियो । उहाँका हजुरबुवा नारायणप्रसाद घिमिरे बर्मा घुम्न गएको र उतै बस्नु भएको थियो । उहाँका १२ छोराछोरी जन्मिएका थिए । १२ छोराछोरी मध्ये हिमा माइली छोरी हुनुहुन्छ । दाजु–बहिनीको भेट भएपछि आमालाई पनि बर्मा लगेर त्यहाँ रहेका आफन्तलाई भेट गराउने तयारी भइरहेको हिमाका कान्छा छोरा प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सामाजिक सञ्जाल मार्फत बर्माबाट मामा १० तारिक नेपाल आउदै हुनुहुन्छ भन्ने सुने । प्रत्यक्ष अहिलेसम्म आफ्नै मामालाई देख्न पाएको थिएन मामाको ८५ बर्षको उमेरमा भेट भयो । खुसीले हर्षित छौं हामीले मामासंग प्रत्यक्ष भेटन पायो प्रदिपले भन्नुभयो ।

बर्मामा बस्दै आएका डिपीका श्रीमति सरस्वती घिमिरेले पनि दाई बहिनीको मिलन भएको देख्दा हर्षित हुनुहुन्छ । फेसबुकमा कुरा गरेको देख्दा र प्रत्यक्ष भेट भएको देख्दा धेरै फरक पाए उहाँले भन्नुभयो । प्रत्यक्ष भेटेर कुरा गर्न पाउँदा मन नै फुरुङग भएको छ सरस्वती घिमिरेले भन्नुभयो । बर्माबाट नेपाल आउँदा अचम्म पनि लागेको थियो सरस्वतीले भन्नुभयो । एयरपोर्ट मै लिन पुग्दा नेपालको वातावरणले झनै मनमा उमंग आयो । कति बेला आफन्तसंग भेट हुने खुलदुली लागेको थियो उहाँले भन्नुभयो । सामाजिक सञ्जालको सदुपयोग गर्न सके धेरै राम्रा र उल्लेखनीय काम हुन सक्छन् भन्ने थुप्रै उदाहरण छन् र तीमध्ये एक उदाहरण बनेको छ, ५८ वर्षपछि दाजु र बहिनीको मिलन । सामाजिक सञ्जालले धेरैको मिलन गराएको उदाहरण थुप्रै छन् ।

