वीरेन्द्रनगर – मध्य पश्चिममाञ्चल ट्रक तथा ट्रेक्टर व्यवसायी संघ, सुर्खेतको २४ औं वार्षिक साधारण सभा तथा २५ औं स्थापना दिवस रजत जयन्ती समारोह कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । वीरेन्द्रनगरमा आयोजित सभामा १५ सय ढुवानी व्यवसायी भेला भएका थिए । उनीहरुले आफ्नो हकहित र अधिकारको संरक्षण र सम्बद्र्धनमा संस्थागत पहल आवश्यक रहेको बताएका छन् । व्यवसायीहरुले यातायात व्यवस्था ऐन, नियम, कार्यविधी, निर्देशिका समयसापेक्ष संशोधन तथा सुधार गर्नुपर्ने माग समेत राखेका छन् ।

संघका महासचिव मदनकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा पन्जिकरण, जाँचपास, रुट परमिटमा भएको झन्झटिलो व्यवस्था हटाउन माग समते गरिएको छ । कार्यक्रम नेपाल यातायात व्यवसाय महासंघका केन्द्रीय सदस्य चेतनकुमार थानीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमकाको प्रमुख अतिथि नेपाल ट्रक यातायात व्यवसायी महासंघका हिरालाल श्रेष्ठ हुनुहुन्थ्यो भने विशिष्ट अतिथि सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल । कर्णाली प्रदेशको राजधानी ऐतिहासिक तथा सुन्दर नगरी वीरेन्द्रनगर सुर्खेतका अग्रज व्यवसायीहरुको अथक मेहेनत र प्रयासले ढुवानी व्यवसायीहरुको हकहित र अधिकारको संरक्षण र सम्बर्द्धन गर्दै संस्थागत पहलको आवश्यकतालाई महशुस गरेर यस क्षेत्रका ढुवानी व्यवसायीहरुलाई एकजुट गराउदै वि.सं. २०५४ साल पौष १ संघको स्थापना भएको थियो । संघले स्थापना कालदेखि २५ औ स्थापना दिवस रजत जयन्ती समारोहसम्म ल्याई पु¥याउनको लागि आ–आफ्नो स्थानबाट प्रत्यक्ष अप्रत्यक्ष योगदान गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ ।
