(Wednesday 28th of October 2026)
`

शिक्षकहरुलाई ३ दिने आयुर्वेद तथा योगा अभिमुखिकरण

  • सगरमाथा गन्तब्य
  • 11.8K
    SHARES

    नेपालगन्ज : शिक्षकहरुका लागि आयुर्वेद तथा योगा सम्बन्धि अभिमुखीकरण कार्यक्रम राप्तीसोनारी गाउँपालिका ९ ढकेरीमा आज सम्पन्न भयो । प्रदेश सरकार लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्रालय स्वास्थ्य निर्देशनालय तथा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा संचालित अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य जीवन शैली के हो ? अस्वस्थ्य जीवन शैली के हो ?योगा भनेको के हो ?योगा गर्ने तारिका, योगा किन आवश्यक छ ? योगाको महत्व र योगा गर्दाका फाइदा के के छन् ? मानिसको जीवन कसरी स्वथ्य बनाउन सकिन्छ ? स्वास्थ्यका लागि के के चीज खान हुने र के के चीज खान नहुने ? योगा, ध्यान र प्रणामको महत्व, ध्यान गर्नाले हुने फाइदा, ध्यान गर्ने तरिका लगायतका विषयमा ३ दिनसम्म प्रशिक्षण दिइएको थियो ।
    अभिमुखीकरण कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अन्र्तगतका २० वटा विद्यालयका २० जना शिक्षक शिक्षीकाहरुको सहभागीता रहेको थियो । विद्यालयका शिक्षकहरुलाइ योगा र आयुर्वेद सम्बन्धि प्रशिक्षण दिनाले विद्यार्थीलाइ सिकाउन प्रभावकारी हुने भएका कारण सरकारले विद्यालयका शिक्षकहरुलाइ योगा सिकाउने नीति ल्याएको हो ।
    अभिमुखीकरण कार्यक्रममा राप्तीसोनारी गाउंपालिकाका अध्यक्ष तप्त पौडेलले विद्यालयमा योग शिविर संचालन गर्नमा आफुले सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । उहाँले आयुर्वेदको प्रयोग विगतमा धेरै हुने गरेको भएतापनि आजभोली हराउदै गएको हुनाले यसको महत्वको बारेमा जनतालाइ बुझाउन सके कतिपय रोग लाग्नबाट बच्न सकिने प्रष्ट पार्नु भयो । उहाँले आफुले आफ्नो गाउँपालिकामा आगामि दिनका आयुर्वेद औषधालयको निम्ति बजेट छुट्याएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रमुख आतिथि समेत रहेका अध्यक्ष पौडेलले नसर्ने रोगको निम्ति आयुर्वेद औषधि प्रभावकारी भएको भन्दै आफु पनि यस तर्फ जानकारी लिदै अगाडि बढ्ने र सहयोग गर्ने बताउनु भयो ।
    राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का अध्यक्ष सोहनलाल थारु आयुर्वेद प्रयोग र योगा महत्व रहेका बताउनु भयो । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिल कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ दिनसम्म तालिममा सहभागी शिक्षक शिक्षीकाहरुलाइ प्रमाणपत्र समेत वितरण गरीएको थियो ।


    प्रशिक्षण कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. अनिल कुमार चौधरीले स्वस्थ्य खानपान किन जरुरी छ ? के खान हुने के खान नहुने ? योगका फाइदा ? योग गर्दा ध्यान दिनु पर्ने कुरा ? स्वथ्य जीवन शैली भनेको के हो ? जस्ता विषयमा प्रकाश पार्नु भएको थियो । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल बिकास समितिका अध्यक्ष जनकराम भण्डारीले स्वास्थ्य जीवनशैलीको निम्ति खानपान, योग र ध्यान जरुरी रहेको बताउनु भयो ।
    बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल बिकास समितिका सदस्य अछरी पोख्रेलले किशोराअवस्थादेखि नै योग, ध्यान र स्वस्थ खानपीन भएमा कतिपय रोग लाग्नबाट बच्न सकिने बताउनु भयो ।
    बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज गीता रेग्मीद्धारा संचालन गरीएको कार्यक्रममा केन्द्रका बरिष्ठ बैद्य सिताराम चौधरीले स्वागत गर्नु भएको थियो । कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका नागरिक आरोग्य सेवा केन्द्र प्रमुख अन्जना चौधरीले संयोजन गर्नु भएको थियो । ३ दिनसम्म संचालन गरीएको अभिमुखीकरण कार्यक्रममा डा.अनिल कुमार चौधरी,जनकराम भण्डारी , गीता रेग्मीले लगायतले प्रशिक्षण दिनु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology