डुडुवा (बाँके), १२ बैशाख । बाँके डुडुवा गाउँपालिकाको आन्तरिक कोषमा रु १३ लाख ८० हजार १ सय ६६ नगद जम्मा भएको छ । कोषमा प्रदेश नं. ५, गाउँपालिकाका कर्मचारी तथा विभिन्न संघसंस्थाहरुले राहत स्वरुप नगद जम्मा गरेका हुन ।
प्रदेश नंं ५ सरकारबाट रु १० लाख, गाउँपालिकाका कर्मचारीहरुको तीन दिनको पारिश्रमिकबाट संकलित रु ३ लाख ३९ हजार १ सय ६६, बासबाट रु १० हजार, स्याक बाँकेबाट रु १० हजार, बि ग्रुप नेपालगन्जबाट रु १० हजार र समाजसेवी केशवराम बर्माले रु ११ हजार नगद सहयोग प्रदान गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार एनआइसी एसिया बैंकबाट ५० हजार बराबरको खाद्यान्न, प्रदेश सांसद कृष्ण केसी नुमनाबाट रु ८६ हजार बराबरको खाद्यान्न, सहकर्मी समाजद्धारा एक सय परिवारलाई पुग्ने खाद्यान्न, स्वास्थ्यका लागि सक्षम प्रर्णाली बाँकेबाट रु एक लाख बराबरको स्वास्थ्य सामाग्री, दलित महिला संघद्धारा खाद्यान्न सहयोग, बाँके युनेस्को क्लबद्धारा २०० मास्क सहयोग प्राप्त भएको छ ।

गाउँपालिकालाई संघिय सरकारबाट समेत सहयोग गर्ने प्रतिबद्धता आएको छ । बिश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाइरस (कोबिड–१९) को संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्याला गर्ने मजदुर, विपन्न, असहाय, गरिबहरुलाई राहत वितरण गर्ने, गाउँपालिकामा उच्च सर्तकता अपनाउन, तथा विभिन्न सामाग्री खरिद लगायतमा खर्च गरिने उद्देश्यले रकम जम्मा गर्ने कार्य भईरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । गाउँपालिकालाई व्यक्ती तथा संस्थाहरुले सहयोग गर्ने क्रम बढदै गएको छ । यसैबिच गाउँपालिकाले शुरु गरेको मजदुर तथा अति विपन्न परिवारलाई राहत वितरणको कार्य जारी राखेको छ । वडा नंं ५ र ४ मा अहिलेसम्म ४६२ जनालाई राहत वितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ ।
