कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका – १४ पार्वतीपुरमा एक दम्पतीको हत्यामा अर्का एक युवकको पनि संलग्नता रहेको खुलेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले पक्राउ परेकाको बयानका आधारमा नेपालगन्ज उपमहानगरपालिका–१९ सुर्जी गाउँका २६ वर्षीय राजु बेहेना पनि उक्त घटनामा संलग्न व्यक्ति रहेको तथ्य खुलेको हो । २५ वर्षीय कृष्ण गडरिया र उहाँको २३ वर्षीया श्रीमती अञ्जलीको हत्यामा संलग्न खुलेको डिएसपी मल्लले जानकारी दिनुभयो ।
साउन १० गते बिहान आफ्नै घरमा एक वर्ष पहिले बिहे गरेका गडरिया दम्पतीको हत्या भएको थियो । घटना लगत्तै आरोपित बेहेना फरार रहेको र उनको खोजी जारी रहेको डिएसपी मल्ले बताउनुभयो । प्रहरीका अनुसार गडरिया दम्पतीको हत्यामा संलग्नमध्य नेपालगन्ज – १९ सूर्जी गाउँकै १९ वर्षीय राजन सोनकर र वडा नम्बर १८ लक्दहवाका २६ वर्षीय सकिल अली शेष पक्राउ परेपछि घटना अनुसन्धान गर्ने क्रममा बेहेनाको पनि संलग्नता रहेको खुलेको हो । ‘सोनकर र शेष पक्राउ परेपछि अनुसन्धान गर्ने क्रममा बेहेनाको पनि संलग्नता खुलेको हो ,’ डिएसपी मल्लले भन्नुभयो, ‘आरोपित भाग्न नपाओस भनेर उहाँको खोजी जारी राखिएको छ ।’
बेहेना भागेर छिमेकी देश भारतमा पुगिसकेको प्रहरीको भनाई छ । कृष्णका सहोदर दाजु विजयकुमार र उहाँकी श्रीमती रेखाको योजनामा नेपालगन्जकै ‘कन्ट्र्याक्ट किलर’ प्रयोग भएको तथ्य प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । प्रहरीका अनुसार हत्यामा प्रयोग भएका ब्यक्तिले घटना हुनुभन्दा अघिल्लो दिन ५० हजार बुझेका थिए ।
पाँच लाखमा भाइ–बुहारीको हत्या गर्न भनेर ‘कन्ट्रयाक्ट किलर’ लाई दाजु विजयकुमारले सुपारी दिएर योजना बनाएको तथ्य खुलेको डिएसपी मल्लले यसअघि नै जानकारी दिनुभएको थियो । दाजु भाउजु घरको माथिल्लो तला र भाइ बुहारी तल्लो तलामा बस्दै आएका थिए । घटना घटाइएको समयमा उनका बुवाआमा धार्मिक भ्रमणमा भारतमा थिए । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाबुआमाले भाइ–बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको बाहानामा दाजु विजयकुमारले हत्या योजना बुनेको यसअघि नै बताएका थिए ।
भाइलाई बुहारीले कुरा लाउने र भाइले बुवालाई उचालेर आफूलाई कुटेको हुँदा त्यसकै बदला लिन दाजु भाउजु मिलेर भाइ बुहारीको हत्याको योजना बनाएको एसपी अधिकारीले बताउनुभएको थियो ।
