नेपालगञ्ज । नेपालगञ्ज उप महापालिकाका प्रमुख प्रशान्त विष्टले २४ वटा जिल्लाको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको नेपागञ्जलाई अबको २० वर्षमा औद्योगिक रुपमा विकसित गर्नको लागी आर्थिक विकासको रणनीति कायम गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार नेपालगञ्जमा आयोजित नेपालगञ्ज उप महानगरपालिकाको सार्वजनिक, नीति, सहकारी संवाद कार्यक्रममा प्रमुख विष्टले सो कुरा बताउनुभएको हो ।
उहाँले अन्य पालिकाको तुलनामा नेपालगञ्जको विकास हुन नसकेको बताउँदै नेपालगञ्जलाई सुखी र सम्बृद्धि बनाउनका लागी यस क्षेत्रमा रहेका सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो । यसका साथै प्रमुख विष्टले नेपालगञ्जलाई विकासको बाटोमा अघि बढाउनका लागी सबै क्षेत्रद्धारा लगानीमा जोड दिन आग्रह समेत गर्नुभयो ।
नागरिक समाज बाँकेका अध्यक्ष कृष्ण श्रेष्ठले २० वर्ष पहिलेको नेपालगञ्ज र अहिलेको नेपालगञ्जमा धेरै फरक भएको बताउँदै यसलाई अझै विकसित गराउनका लागी यहाँका स्थानिय सरकारले अबको पाँच वर्षमा निश्चित लक्ष्य लिएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले विकासका लागी सम्बन्धित निकायसंगै विषेशगरी राजनीति दल र उनीहरुका भातृ संगठनहरु एक हुनु पर्नेमा जोड दिनुभयो ।
‘सुखी र सम्बृद्धि नेपालगञ्ज बनाउनका लागी सबैभन्दा पहिले यहाँका राजनीतिक दल र उनीहरुको भातृ संगठनहरु बीचको वातावरण सकारात्मक हुन आवश्यक छ ।’ उहाँले भन्नुभयो, राजनीतिक दलहरु एकै ठाउँमा बसेर काम गर्न शूरु गरे भने यो शहरले विकासको फड्को मार्न धेरै समय लिने छैन ।’ त्यस्तै कार्यक्रममा सहभागी घरेलु तथा साना उद्योग महासंघ बाँके जिल्ला अध्यक्ष मधु खड्काले नेपालगञ्ज आफैमा एउटा औद्योगिक क्षेत्रको रुपमा परिचित शहर हुँदहुँदै पनि यस क्षेत्रमा धेरै जसो सामानहरु निर्यात भन्दा आयातित हुने गरेको बताउनुभयो । उहाँले नेपालगञ्जलाई औद्योगिक करण बनाउन प्रत्येक गाउँमा उद्योगहरु सञ्चालन गर्नमा जोड दिनुभयो ।
‘उद्योगले सामान उत्पादन मात्र नभई रोजगार श्रृजना गर्ने भएको हुनाले उत्पादित समानलाई बजार भाऊ दिंदै निर्यात गर्नमा युवाहरु स्वयम नै सक्रिय हुने हुनाले नेपालगञ्जलाई सुखी र संवृद्धि बन्नमा कसैले रोक्न सक्दैन ।’ संवृद्ध नेपालगञ्जका लागी उहाँले भन्नुभयो, ‘प्रत्येक गाउँमा उद्योग र घर घरमा रोजगारको वातावरण बनाईनु पर्छ ।’ जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुबेदीले पनि नेपालगञ्जमा सञ्चालित सबै सहकारीहरुले आफुलाई उत्पादन मुखी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले संवृद्ध नेपालगञ्ज बनाउनका लागी सहकारीहरु अब उत्पादन मुखी हुन आवश्यक रहेको औल्याउनुभयो । कार्यक्रममा सबै क्षेत्रबाट उपस्थित भएका सहभागीहरुले सम्वृद्ध नेपालगञ्जका लागी प्रत्येक युवाको हातमा सीप र गाउँ गाउँमा उद्योग सञ्चालन हुन आवश्यक रहेको बताउनुभएको थियो ।
उनीहरुले यस क्षेत्रको पर्यटनलाई विस्तार गर्नको लागी यहाँका स्थानिय तीर्थ स्थलहरुको मर्मत सम्हार गर्न सुझाव दिनुभएको थियो । साथै उनीहरुले वागेश्वरी मन्दिरको खुला दर्शनमा लगाईएको चर्को शुल्कमा पनि नगरपालिकाको ध्यान केन्द्रित गराएका थिए । कार्यक्रममा सम्बधित निकायका सबै क्षेत्रमा आवद्ध प्रमुखहरुको सहभागिता रहेको थियो । जी आई जेटका विज्ञ डा. तेजहरी घिमिरेद्धारा सहजीकरण गरिएको उक्त कार्यममा उपस्थित सबैले नेपालगञ्जलाई हरित शहर बनाउन सबैको सहकार्य हुन आवश्यक रहेको औंल्याएका थिए । यसका साथै उनीहरुले अबको २० वर्षमा नेपालगञ्ज बासीलाई शिक्षा र स्वास्थ्यमा निशुल्क व्यवस्था गरिनु पर्ने बताउनुभयो ।
