नेपालगन्ज, ११ श्रावण – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि चार ल्याउने परीक्षार्थीको संख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने छात्राको संख्या चार हजार ३५२ रहेको छ । ३ दशमलव ६ देखि चार जीपीए ल्याउने छात्रको संख्या पाँच हजार २८१ रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।
यो वर्षको एसईईमा सहभागीमध्ये चार लाख ९५ हजार सात सय ५१ परीक्षार्थीको नतिजा सार्वजनिक भएको हो । बोर्डका अनुसार उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ दशमलव ९४ प्रतिशत रहेको छ ।
यसैगरी, ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउने छात्रा १९ हजार १३५ रहेका छन् भने ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए २२ हजार ४९१ छात्रले ल्याएका छन् ।
त्यस्तै, जीपीए २ दशमलव ८ देखि ३ दशमलव २ ल्याउने छात्राको सङ्ख्या ३२ हजार २५ रहेको छ भने छात्रको सङ्ख्या ३७ हजार ८७१ छ । सँगै २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउने छात्राको संख्या ४३ हजार ८५७ छ भने ने ४६ हजार ८९८ छात्र रहेका छन् । यसैगरी, २ देखि २ दशमलव ४ जीपीए ल्याउने छात्राको सङ्ख्या ५८ हजार ९८० र छात्रको सङ्ख्या ५३ हजार ७४२ छ । बोर्डका अनुसार १ दशमलव ६ देखि २ जीपीए ल्याउने छात्राको सङ्ख्या ५३ हजार ८२३ र छात्रको संख्या ४६ हजार ७६७ छ । १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउने छात्राको सङ्ख्या २३ हजार ३८० हुँदा छात्र २१ हजार २०४ छन् ।
सबैभन्दा कम जीपीए शून्य दशमलव ८ देखि १ दशमलव २ ल्याउने छात्राको सङ्ख्या १६ सय ५२ छ भने छात्र १६ सय २८ रहेका छन् । यो वर्षको एसईईमा छात्र र छात्राबाहेक अन्य २५ जना परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।
परीक्षा बोर्डले आठ वटा ग्रेड विभाजन गरेर नतिजा प्रकाशन गरेको छ । चार लाख ९५ हजार ७५१ जना विद्यार्थी सहभागी रहेको एसईई परीक्षा कोभिड –१९ महामारीका कारण दुई वर्षपछि भएको हो । यसअघि दुई वर्ष विद्यालयले आन्तरिक मूल्यांकनका आधारमा नम्बर बोर्डलाई पठाएका थिए ।
कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी थिए ।
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सक्ने छन् । परीक्षा नियन्त्रण कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको हो । एसएमएसका लागि सर्टकोड ३५००१, ३४९४९, ३१००३ र १६०० छन् रहेका छन् ।
