नेपालगन्ज – सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन बन्द गरेपछि सरकारी अस्पतालमा स्वास्थ्य बिमा लिनेको चाप बढेको छ । निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवामा रोक लगाएपछि सरकारी अस्पतालमा विरामीको चाप ह्वात्तै बढेको हो ।
बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने विरामीको संख्या दैनिक बढ्दो क्रममा रहेको छ । अस्पतालको व्यवस्थापन, कर्मचारीको अभावले सेवा लिन झनै समस्या भएको खडक खत्रीले बताउनुभयो । स्वास्थ्य विमाको सेवा लिन विहानैदेखि लाइनमा बस्नु परेको पिडा सुनाउदै उहाँले भन्नुभयो, “विरामी मान्छे झन लाइनबाट सेवा सुविधा लिन एकदम झण्झटिलो रहेको खडक सिंहले भन्नुभयो ।
भेरी अस्पतालबाट सेवा लिन लामो लाइन लाग्नु पर्ने झण्झटले साह्रै दुख खेप्न परेको सेवाग्राहीको भनाई छ । अस्पताल प्रशासनको लापरवाहीका कारण दुख खेप्न परेको सेवाग्राहीको गुनासो रहेको छ ।
नेपालगन्जको चर्को गर्मी त्यसमा पनि लामो लाईनमा बसेर स्वास्थ्य सेवा लिन एकदमै गाह्रो भएको सेवाग्राहीले बताएका छन । महिला पुरुषको लाईन पनि छैन अपाङ व्यक्तिलाई पनि लाइनमा बस्नुपर्ने बाध्यताले सेवाग्राही झनै समस्या पर्ने गरेको उनिहरुको भनाई छ । सेवाग्राही धेरै कर्मचारी थोरै भएको कारणले अनाहकमा दुख पाउनुपरेको सेवाग्राहीले बताएका छन् । लाइनमा घण्टौं कुरेर बल्लपालो आउँछ यसलाई अस्पताल व्यवस्थापन समितले व्यवस्थापन गर्न आवश्यक रहेको सेवाग्राहीहरुले बताएका छन् ।

पहिले ८०÷९० जना स्वास्थ्य विमा सेवा लिन आउथे भने अहिले एक हप्ता यता दैनिक २ सयदेखि ३ सय विरामी स्वास्थ्य विमाको सेवा लिन आउने गरेको भेरी अस्पताल नेपालगन्ज अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले निजी तथा मेडिकल कलेजमा स्वास्थ्य विमा हटाएपछि सरकारी अस्पतालमा दरवन्दी थप गरिनुपर्ने हो तर नगरेको हुनाले कर्मचारीको अभावले सेवा दिन गाह्रो भएको भेरी अस्पताल विकास समितिका सदस्य श्रेष्ठले बताउनुभयो ।
एक हप्तादेखि भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्य सेवा लिने सेवा ग्राहीको एकदमै भिड लागेको भेरी अस्पताल नेपालगन्ज स्वास्थ्य विमा काउण्टरका मञ्जु चौधरीले बताउनुभयो । विरामीहरु विहान ८ बजेदेखि नै लाइनमा बस्न बाध्य भएको चौधरीले बताउनुभयो । हामीले विहान ९ बजेदेखि १२ बजेसम्म ओपिडी पर्चाको कार्य गर्ने र १२ बजेदेखि साढे ५ बजेसम्म इमरजेन्सी सेवा प्रदान गरिने चौधरीले बताउनुभयो ।
आर्थिक वर्ष २०७९–८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा बन्द गरिएको भेरी अस्पताल नेपालगन्जका प्रमुख मडिकल सुपरिटेण्डेन्ट डाक्टर बद्री चापागाईले भन्नुभयो । एक हप्ताभित्रै भेरी अस्पतालबाट काउन्टरको विस्तार र कर्मचारी थप गरेर व्यवस्थीत गरिने डा. चापागाईले बताउनुभयो । एक हप्तादेखि दैनिक २ सयदेखि ३ सयसम्मका विरामीलाई सेवा प्रवाह गरेको उहाँले बताउनुभयो ।
मुख्यगरी, बिमितले औषधि तथा समयमा स्वास्थ्य सेवा नपाउनु, सेवा प्राप्त गर्न लामो समय लाइन कुर्न बाध्य हुनु, बीमा गरेका र बीमा नगरेका बिरामीको सेवामा विभेद हुनु, प्रथम सेवा बिन्दुबाट थप उपचारको लागि ठूला अस्पतालमा ‘रिफर’ गर्दा आवश्यक कागजातको व्यवस्था नहुनु जस्ता विषयले बीमा कार्यक्रमप्रति नागरिकको विश्वास घट्दो छ । स्वास्थ्य बीमा कार्यक्रमको लागि सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।

